ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हबलदारको मृत्यु, जवान घाइते

बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका एकजना सहायक हबलदारको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक प्रहरी जवान घाइते भएका छन्।

आइतबार बिहान पाँच बजेतिर बा.प्र. ०३–००१ ख १४१२ नम्बरको ट्रकले लालपुर भन्ने स्थानमा ठक्कर दिँदा सशस्त्रका सहायक हबलदारको मृत्यु भएको हो।

मृत्यु हुनेमा बर्दियाकै बाँसगढी नगरपालिका–५ मोतिपुर घर भएका ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हबलदार तिलक कँडेल रहेका जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका कँडेललाई अस्पताल पुर्‍याउँनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन्।  

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी जवान बाँसगढी नगरपालिका–८ ककौराका ३५ वर्षीय दीपक कुमार शाह घाइते भएका छन्।  

गम्भीर घाइते शाहलाई बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ।

उनीहरू दुवै फर्वाड अपरेटिङ बेस क्याम्प गणेशपुर बर्दियामा कार्यरत थिए।

दुर्घटनामा ट्रक चालक मकवानपुरको बागमती गाउँपालिका–५ समरीका ४० वर्षीय निरन्जन दर्जी पनि घाइते भएका छन्। उनको बर्दिया जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

अवैध रूपमा भारततर्फ लैजान लागिएका दुई वटा भैँसी र एउटा पाडोलाई सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिने क्रममा दुर्घटना भएको हो।

ट्रकको ठक्करबाट एउटा भैँसी पनि मरेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ।