अमेरिकाले आप्रवासीहरूलाई देश निकाला गर्दै मध्य अफ्रिकी गणतन्त्र पठायो

काठमाडौं । अमेरिकाले जोर्डन, आर्मेनिया, टर्की, इरान, जर्जिया र अफगानिस्तानका नागरिकहरूलाई देश निकाला गरेको छ । उनीहरूलाई विश्वकै सबैभन्दा गरिब र अस्थिर मुलुकहरूमध्ये एक मध्य अफ्रिकी गणतन्त्रमा पठाएको छ ।

यो कदम एउटा विवादास्पद सम्झौताअन्तर्गत चालिएको हो, जसले अमेरिकालाई आफ्नै गृहदेश फर्काउन नसकिने आप्रवासीहरूलाई तेस्रो देशमा डिपोर्ट गर्ने अनुमति दिन्छ ।

बिहीबार राति अमेरिकाको लुजियानाबाट उडेको उक्त विमानमा एक इरानी लोकतन्त्र समर्थक अभियन्तासहित करिब दुई दर्जन आप्रवासी सवार रहेको उनका वकिलले बताएका छन् । उक्त विमान शुक्रबार मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईमा अवतरण गरेको थियो ।

डिपोर्ट गरिएका व्यक्तिहरूलाई कहाँ राखिनेछ वा उनीहरू कति समयसम्म मध्य अफ्रिकी गणतन्त्रमा बस्नेछन् भन्नेबारे हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन ।

अमेरिकी दूतावास निकट एक स्रोतले समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी) लाई बताएअनुसार केही आप्रवासीहरूलाई बान्गुईस्थित निर्माणाधीन अमेरिकी दूतावास परिसरनजिक रहेको दमकल केन्द्रमा अस्थायी रूपमा राखिएको छ भने अन्यलाई छुट्टै स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ ।