नेपाली कप्तानहरूको नजरमा फिफा विश्वकप

काठमाडौं । फिफा विश्वकप २०२६ बिहीबार मध्यरातिबाट सुरु भइसक्यो । अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्तरुपमा पहिलो पटक आयोजना गरेको विश्वकपमा ४८ टिमका १२४८ खेलाडी सहभागी छन् ।

विभिन्न १६ शहरका १६ मैदानमा हुने विश्वकपमा कूल १०४ खेल हुनेछन् । विश्व फुटबलको महाकुम्भ सुरु हुँदै गर्दा पूरा विश्व फुटबल ज्वरोले हनहनी तातेको छ ।

जसबाट नेपाल पनि अक्षुतो छैन । विश्वकप खेल्ने ४८ टिममा स्थान बनाउन नेपाल असफल भए पनि नेपालबाट विश्वकप हेर्न उत्तर अमेरिका नै जानेको लाइन लामै छ ।

टेलिभिजनमै हेरेर आफूलाई मन पर्ने विभिन्न देशको समर्थन गर्न लाखौं नेपाली समर्थक तयार छन् । आम समर्थकभन्दा पनि फुटबलमै जीवन समर्पण गरेकाहरूका लागि यो प्रतियोगिताले झन विशेष महत्व राख्छ । त्यसैले उनीहरुको चासो पनि विश्वकपमा विशेष रहने गर्छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीलाई विभिन्न कालखण्डमा कप्तानको भूमिकामा रहेर नेतृत्व गरेकाहरूले उत्तर अमेरिकामा जारी विश्वकपलाई कसरी हेरिरहेका छन् त ?

पूर्व कप्तान तथा एन्फाका पूर्व अध्यक्ष गणेश थापाले यसपाली घरमै बसेर फुटबल हेर्ने योजना बनाएका छन् । नेपाली फुटबल टिमको अन्तर्राष्ट्रिय खेलबाहेक अन्य प्रतियोगिता खास नहेर्ने थापाको लागि हरेक चार वर्षमा हुने विश्वकप चाँही अपवादमा पर्ने गर्छ ।

सन् १९८२ देखि नै अर्जेन्टिनालाई समर्थन गरेका थापा यसपटक पनि अर्जेन्टिनालाई सथर्मन गर्ने र त्यही टिमले विश्वकप जित्नेमा ढुक्क छन् । ‘सन् १९८२ बाट नै म अर्जेन्टिनाको समर्थन गर्दै आएको छु । त्यसैले यसपटक पनि अर्जेन्टिनाले जित्नेमा ढुक्क छु,’ थापा भन्छन् ।

थापा अर्जेन्टिनाले उपाधि नजिकेको अवस्थामा पोर्चुगलले जितोस भन्ने कामना गर्छन् । कप्तान क्रिष्टियानो रोनाल्डोको अन्तिम विश्वकप भएकाले पनि थापा पोर्चुगलतर्फ ढल्केका हुन् ।

‘उपाधि जित्ने फ्रान्स, जर्मनी, इङ्ल्यान्ड, ब्राजिल, स्पेन, अर्जेन्टिना जस्ता टिम नै हुन् । तर, यसपटक अर्जेन्टिनाले नजितेको अवस्थामा रोनाल्डोको अन्तिम विश्वकप भएका कारण पनि पोर्चुगल जितोस भन्ने कामना गर्छु,’ थापा भन्छन् ।

उपेन्द्रमान सिंह नेपाली टिमको एक दशकभन्दा लामो समय गोलपोष्ट सम्हालेका गोलकिपर हुन् । एसियाका महारथी देशहरूसँग खेलेको अनुभव उनीसँग छ ।

सन् १९९० देखि नै उनी जर्मनी टिमको समर्थन गर्दै आएका छन् । पछिल्लो दशकमा जर्मनीले कमजोर प्रदर्शन गरे पनि यसपटक उपाधि जित्नेमा उनी आशावादी छन् ।

‘सानैदेखि जर्मनकै समर्थक हो । अहिले पनि यही टिमलाई समर्थन गर्छु,’ नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान उपेन्द्रमान घरमै बसेर फुटबल हेर्ने तयारीमा छन्, ‘यसपटक मध्यरातमा खेल छ । बाहिर जाने योजना छैन । घरमै बसेर खेल हेर्छु ।’

नेपाली टिमका सर्वाधिक सफल स्ट्राइकर मध्ये एक हुन् हरि खड्का । उनी यसपटकको विश्वकप नेपालमै साथीहरुसँग बसेर हेर्ने योजनामा छन् । उनको लागि यो विश्वकप विशेष पनि छ । एन्फाको टेक्निकल डाइरेक्टर भएकाले विश्वकपबाट केही सिक्न सकिने उनको बुझाइ छ ।

‘पहिला खेलाडीको हिसावमा विश्वकप हेरिन्थ्यो । यसपटक एक प्रशिक्षकको रुपमा हेर्दैछु र आफूले यस्ता प्रतियोगिताबाट धेरै सिक्न पाउने हुँदा पनि उत्साहित छु,’ थापा भन्छन् ।

नेपालका लागि कीर्तिमानी सर्वाधिक १३ गोल गरेका थापाले पछिल्लो पटक अर्जेन्टिनाको समर्थक भएर विश्वकप हेरेका थिए । मेसीले जितोस् भन्ने चाहन्थे र भयो पनि त्यस्तै । यसपटक रोनाल्डोको अन्तिम विश्वकप भएकाले रोनाल्डोले जितेको हेर्ने चाहना राख्छन् ।

‘पछिल्लो पटक आफूले सोचेको जस्तै लियोनल मेसीले उपाधि जिते । यसपटक रोनाल्डोको अन्तिम विश्वकप हो । त्यसैले रोनाल्डो र पोर्चुगल सफल भएको हेर्ने चाहना छ । पोर्चुगललाई शुभकामना,’ थापाले भने ।

राजुकाजी शाक्यपछि नेपाली फुटबलले कप्तानको जिम्मेवारीमा पाएका दोस्रो रक्षक हुन्, राकेश श्रेष्ठ । सन् १९९९ बाट नै विश्वकप हेर्न थालेका राकेश उनी विशेषगरी दक्षिण अमेरिकी फुटबलको प्रशंसक हुन् । त्यसैले अर्जेन्टिना र ब्राजिली फुटबलबाट धेरै प्रभावित छन् ।

राकेश युरोपेली फुटबल कमैमात्र फलो गर्छन् । यसपटक उनी अर्जेन्टिनालाई नै समर्थन गर्दैछन् । तर, स्पेन र फ्रान्स मध्ये एकले जित्ने उनको अनुमान छ । ‘अर्जेन्टिनाले फेरी पनि विश्वकप जितोस् भनेर कामना गर्छु । तर, यसपटक फ्रान्स र स्पेन धेरै बलिया छन्,’ राकेशले भने ।

नेपाल यु–१६ महिला टिमको प्रशिक्षक समेत रहेका राकेश यसपटक मध्यरातमा खेल हुने हुँदा भने दुखी छन् । त्यसैले घरमै बसेर प्रतियोगिता हेर्ने योजना बनाएका छन् ।

‘मध्यरात देखि विहानैसम्म खेल हुँदा समस्या भएको छ । लिग चरण त पूरै घरमै हेरिन्छ । नकआउटपछिका राम्रा खेल चाही साथीहरुसँग बसेर हेर्नुपर्छ,’ उनको योजना छ ।

अर्का पूर्व कप्तान अनिल गुरुङले भने यसपटक अमेरिकामै गएर विश्वकप हेर्ने योजना बनाएका थिए । तर, एकेडेमीको व्यस्तताका कारण उनले अमेरिका जाने योजना स्थगित गरेका छन् ।

आफ्नै नाममा सञ्चालित एजी १० फुटबल एकेडेमीका खेलाडीलाई डेनमार्क लिएर जाने निश्चित भइसकेको छ । ‘अमेरिका जानै पर्ने काम पनि थियो, गएको बेला विश्वकप हेर्ने योजना थियो । तर, आफ्नै एकेडेमीका कारण जान पाइन । एकेडेमीका खेलाडी लिएर डेनमार्कमा हुने एक प्रतियोगिता खेल्न जाँदै छौं,’ उनले सुुनाए ।

अनिल यसपटकको विश्वकपमा टिम संख्या बढाएर ४८ पुर्याएको कारण सुरुमै उपाधि कस्ले जित्ने भनेर दाबी गर्न नसक्ने बताउँछन् । तर, पनि उनी इङ्ल्यान्डले प्रतियोगिता जितोस् भनेर कामना गर्छन् ।

‘सानै देखि इङ्ल्यान्डको समर्थक हो । तर, त्यति राम्रो प्रिमियर लिग हुँदा पनि इङ्ल्यान्डले जित्न सकेको छैन । यसपटक धेरै टिम छन् । नकआउट पछि मात्रै अनुमान गर्न सजिलो हुन्छ । जित्ने भनेकै अर्जेन्टिना, फ्रान्स, नेदल्यान्ड्स, जर्मनी जस्ता टिम हुन्,’ अनिलको बुझाई छ ।