फिफा विश्वकप २०२६ मा नयाँ नियम : समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम

आगामी फिफा विश्वकप २०२६ लाई अझ तीव्र, अनुशासित र प्रतिस्पर्धात्मक बनाउन अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र अन्तर्राष्ट्रिय फुटबल नियम बोर्ड (आईएफएबी) ले खेलको गति बढाउने तथा समय खेर फाल्ने प्रवृत्ति नियन्त्रण गर्ने उद्देश्यसहित नयाँ नियमहरू लागू गरेका छन्।

फिफाका अनुसार पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा खेल ढिलो गराउने, अनावश्यक रूपमा समय बर्बाद गर्ने र खेलको लय भंग गर्ने प्रवृत्ति बढ्दै गएको देखिएपछि ती समस्यालाई सम्बोधन गर्न नयाँ व्यवस्था लागू गरिएको हो। यी नियमहरू विश्वकप २०२६ देखि कार्यान्वयनमा आउनेछन्।

खेलमा सबैभन्दा चर्चित परिवर्तनमध्ये एक ५ सेकेन्डको नियम हो। यसअनुसार थ्रो-इन वा गोल-किक लिँदा खेलाडीले अनावश्यक ढिलाइ गरेमा रेफ्रीले पाँच सेकेन्डको स्पष्ट काउन्टडाउन गर्नेछन्। तोकिएको समयभित्र खेल पुनः सुरु नभएमा थ्रो-इनको अधिकार विपक्षी टोलीलाई दिइनेछ भने गोल–किकमा ढिलाइ भए विपक्षी टोलीलाई कर्नर किक प्रदान गरिनेछ। फिफाले यस नियमले खेलको गति बढाउने विश्वास गरेको छ।

त्यसैगरी, प्रतिस्थापन प्रक्रियामा पनि कडाइ गरिएको छ। अब मैदानबाट बाहिरिने खेलाडीले १० सेकेन्डभित्र मैदान छोडिसक्नुपर्नेछ। यदि खेलाडीले जानाजानी ढिलाइ गरेमा प्रतिस्थापन भएर आउने खेलाडीलाई तत्काल मैदान प्रवेश गर्न अनुमति दिइने छैन। परिणामस्वरूप सम्बन्धित टोलीले केही समय १० खेलाडीमै खेल्नुपर्ने अवस्था आउन सक्छ। यसलाई समय बर्बादी नियन्त्रण गर्ने प्रभावकारी उपायका रूपमा हेरिएको छ।

चोटपटक र उपचारका नाममा हुने ढिलाइ नियन्त्रण गर्न पनि नयाँ प्रावधान ल्याइएको छ। मैदानभित्र मेडिकल स्टाफ बोलाएर उपचार गरिएका खेलाडीले खेल पुनः सुरु भएपछि कम्तीमा ६० सेकेन्डसम्म मैदानबाहिर रहनुपर्नेछ। यस नियमले सामान्य अवस्थालाई पनि गम्भीर चोटझैँ देखाएर खेल रोक्ने प्रवृत्तिमा कमी ल्याउने अपेक्षा गरिएको छ।

अनुशासनका विषयमा पनि फिफाले थप कडाइ गरेको छ। अब खेलाडीहरूले विवादका क्रममा हात वा जर्सीले मुख छोपेर रेफ्रीसँग बहस गरेमा सिधै रातो कार्ड देखाइने व्यवस्था गरिएको छ। त्यस्तै, रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै मैदान छाड्ने, खेल अवरुद्ध गर्ने वा अन्य खेलाडीलाई उक्साउने कार्यमा संलग्न खेलाडी तथा टोलीका अधिकारीहरूलाई पनि कडा कारबाही गरिनेछ।

भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को भूमिका पनि विस्तार गरिएको छ। नयाँ व्यवस्थाअनुसार भिएआरले गलत रूपमा प्रदान गरिएका कर्नर किक, दोस्रो पहेँलो कार्डसँग सम्बन्धित निर्णय तथा अन्य केही स्पष्ट र प्रभाव पार्ने त्रुटिहरूको समेत समीक्षा गर्न सक्नेछ।

फिफाको विश्वास छ कि यी नयाँ नियमहरूले खेललाई अझ छिटो, निष्पक्ष, पारदर्शी र दर्शकमैत्री बनाउनेछन्। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता मानिने विश्वकपमा खेलको गुणस्तर र समय व्यवस्थापन सुधार गर्न यी परिवर्तनहरूलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।