बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड
बाथरोगको रोकथाम तथा रोग लागेमा प्रारम्भिक चरणमै उपचार गरेर स्वास्थ्यलाभ गर्न सकिने भएकाले यससम्बन्धी चेतना अझ व्यापक बनाउनुपर्नेमा जोड दिइएको छ ।
नेशनल बाथरोग सेन्टरको १३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बाथरोग सुरुकै चरणमा पहिचान गरी उपचार गरेमा सहज रूपमा निको हुने, तर ढिलो गरी उपचार गर्दा मिर्गौला र फोक्सोलगायत महत्वपूर्ण अङ्गमा असर पुग्ने तथा उपचार खर्चसमेत महँगो हुने भएकाले जनचेतना अभिवृद्धि आवश्यक रहेको वक्ताहरूले बताएका हुन् ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा पूर्व राजदूत केदारभक्त माथेमाले जीवनको गुणस्तर सुधार गर्न बाथरोगलगायत विभिन्न रोगबारे पर्याप्त जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । युवा अवस्थामै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै गएको वर्तमान अवस्थामा स्वस्थ जीवनका लागि जनस्वास्थ्यसम्बन्धी सचेतना अझ प्रभावकारी ढङ्गले विस्तार गर्नुपर्ने उहाँको भनाइ थियो ।
सेन्टरका अध्यक्ष डा विनीत वैद्यले बाथरोग ‘मुसा बनेर छिर्ने र हात्ती बनेर निस्कने’ रोग भएकाले लक्षण देखिनासाथ उपचार सुरु गर्नुपर्ने बताउनुभयो । सेन्टरले अनुसन्धान, शिक्षा तथा स्वास्थ्य सेवा प्रवाहका क्षेत्रमा काम गरिरहेको उहाँले जानकारी दिनुभयो । वार्षिकोत्सवकै अवसरमा सेन्टरले आजदेखि ‘र्युमा फ्युजन नेटवर्क’को घोषणा पनि गरेको छ ।
सेन्टरका प्रबन्ध निर्देशक डा रोशन कक्षपतिले अध्यक्ष वैद्यको नेतृत्वमा गरिएको अनुसन्धानले बाथरोग प्रारम्भिक अवस्थामै पहिचान गर्न सकिने पुष्टि गरेको बताउनुभयो । बाथरोगबारे आमसञ्चार माध्यम तथा सम्बन्धित निकायमार्फत अझ व्यापक जनचेतना फैलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा कुटुम्ब ब्याण्डका पवित महर्जनले बाथरोगसम्बन्धी जनचेतना अभिवृद्धिका लागि ब्याण्डको तर्फबाट सहयोग भइरहेको र आगामी दिनमा पनि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा सेन्टरका पोखरा शाखा प्रमुख डा कृष्ण ढकाल, मानव संसाधन विभागकी पवित्रा कार्कीलगायत वक्ताले बाथरोगबाट आम नेपालीलाई जोगाउन जनचेतना नै सबैभन्दा प्रभावकारी माध्यम भएको बताउनुभयो । कार्यक्रममा सेन्टरमा दीर्घ सेवा गरेका कर्मचारी तथा व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
नेपाल–भारत सीमा विवादमा बेलायतको मध्यस्थता खोज्दैनौंः मन्त्री खनाल
नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन स…
अमेरिकाभित्रै गोली चल्यो, १२ जना घाइते
एसियन गेम्स छनोट : सहज जित निकाल्दै नेपाल फाइनलमा
मन्त्रिपरिषद् पुनर्गठन हुँदै : को–को छन् मन्त्री बन्ने रेसमा ?
“मलाई राजदूत बन्न मन छ” भन्दै बालेन साहको व्यङ्ग्यात्मक टिप्पणी, कमेन्टमा कोर टि…
परराष्ट्रमन्त्रीको भारत भ्रमण : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रत…
प्रतिक्रिया