इरान–अमेरिकाबिचकाे युद्ध अन्त्य गर्ने प्रयास तीव्र, कतारकाे उच्चस्तरीय टाेली तेहरानमा

इरान र संयुक्त राज्य अमेरिकाबिच जारी युद्ध अन्त्य गर्ने प्रयास तीव्र भइरहेका बेला कतारको एक उच्चस्तरीय प्रतिनिधिमण्डल आइतबार तेहरान पुगेको छ।

कूटनीतिक स्रोतहरूका अनुसार यो भ्रमण सम्भावित शान्ति सम्झौताले अन्तिम रूप लिनुअघि मध्यस्थता प्रक्रियालाई अगाडि बढाउने प्रयासको हिस्सा हो।

इरानी समाचार संस्था आइएसएनएका अनुसार कतारका विदेशमन्त्रीका एक वरिष्ठ सल्लाहकारलाई तेहरान पठाइएको छ। अर्को समाचार संस्था तस्निमले भ्रमणको मुख्य उद्देश्य कूटनीतिक प्रक्रियासम्बन्धी पछिल्ला घटनाक्रमको समीक्षा गर्नु रहेको जनाएको छ।

परिस्थितिबारे जानकारी भएका एक कूटनीतिज्ञले एएफपीसँग कुरा गर्दै कतारी वार्ताकारहरू आइतबार बिहान तेहरान पुगेको पुष्टि गरे। संवेदनशील वार्ताबारे सार्वजनिक रूपमा बोल्ने अधिकार नभएकाले नाम नखुलाउने सर्तमा उनले प्रतिनिधिमण्डलको भ्रमणको लक्ष्य सम्भावित सम्झौतालाई अन्तिम रूप दिन सहयोग पुर्‍याउनु रहेको बताए।

पश्चिम एसियामा महिनौँदेखि जारी द्वन्द्व अन्त्य गर्न पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ। अमेरिका र पाकिस्तान दुवैले आइतबार नै युद्ध अन्त्यसम्बन्धी सम्झौतामा हस्ताक्षर हुन सक्ने सङ्केत दिएका छन् ।

यद्यपि तेहरानले समयसीमाबारे सावधानीपूर्ण धारणा व्यक्त गरेको छ । इरानी अधिकारीहरूले सम्झौताका केही महत्त्वपूर्ण पक्षमा अझै छलफल जारी रहेको सङ्केत दिएका छन्। इरानी सञ्चारमाध्यमहरूले पनि प्रस्तावित ढाँचाबारे अन्तिम निर्णय हुन बाँकी रहेको उल्लेख गरेका छन्।

कतारले विगतमा पनि क्षेत्रीय विवाद समाधानमा मध्यस्थकर्ताको भूमिका खेलेको छ। तेहरानमा कतारी प्रतिनिधिमण्डलको पछिल्लो भ्रमणलाई युद्धविरामलाई स्थायी शान्ति सम्झौतामा रूपान्तरण गर्ने प्रयासका रूपमा हेरिएको छ।

यद्यपि सम्झौता नजिक पुगेको दाबी भइरहेका बेला समयसीमा, कार्यान्वयनको स्वरूप र दुवै पक्षका अन्तिम सहमतिबारे अझै केही अनिश्चितता कायम रहेको देखिन्छ।