आरोग्य र चिकित्सा प्रवर्द्धन गर्न ‘अन्तरराष्ट्रिय आयुष कन्क्लेभ’

काठमाडौँ, ३१ जेठः आरोग्य र चिकित्सा क्षेत्रको प्रवर्द्धन गर्नका लागि काठमाडौँमा अन्तरराष्ट्रिय आयुष कन्क्लेभ सम्पन्न भएको छ । 

‘काउन्सिल फर इन्ट्रिग्रेटिभ वैद्य इनोभेसन एण्ड कोलाब्रेसन’को आयोजना तथा नेपाल चेम्बर अफ कमर्सको  सहआयोजनामा यहाँ आज भएको कन्क्लेभका सहभागीहरुले आरोग्य र आयुर्वेद चिकित्सालाई प्रवर्द्धन गर्न नीतिगत सहजीकरण गर्नुपर्ने माग गरेका छन् । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाललाई आरोग्य, स्वास्थ्य तथा चिकित्सा पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गराउनुपर्ने बताउनुभयो । ‘‘नेपाल सरकारले आगामी १० वर्षलाई ‘आरोग्य दशक’ का रूपमा मनाउने निर्णय गरेको छ । यो काम सह्रानीय छ’’, उहाँले भन्नुभयो, ‘‘नेपालमा पाइने जडीबुटी, योग, ध्यान तथा परम्परागत उपचार पद्धति जस्ता नेपालको विशिष्ट सम्पदाले स्वास्थ्य तथा आरोग्य पर्यटनको सम्भावनाको ढोका खोल्ने अपेक्षा लिएका छौँ ।’’ 

अध्यक्ष अग्रवालले परम्परागत चिकित्सा प्रणाली र आधुनिक विज्ञानबीचको सहकार्य नै भविष्यको स्वास्थ्य सेवाको आधार बन्ने उल्लेख गर्दै कृत्रिम बुद्धिमता (एआइ), डिजिटल स्वास्थ्य, टेलिमेडिसिन, जैव प्रविधि तथा डाटा विश्लेषण जस्ता प्रविधिहरूले स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन र कार्यक्षमताका नयाँ अवसर सिर्जना गरिरहेको बताउनुभयो । 

सो कन्क्लेभमा भारत, बङ्गलादेश र युनाइटेड अरब इमिरेट्स(युएई) का  करिब २०० प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कन्क्लेभका अध्यक्ष राष्ट्रभूषण चक्कुबजीले आयुष कन्क्लेभले आर्युर्वेद, योगलगायतको विकास र प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो । उहाँले यसअघि भारतको आगरा, गोवा र जयपुरमा आयुष कन्क्लेभ सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो ।