एमालेले मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
नेकपा (एमाले) ले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको शाख फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारीसहित मिसन जागरण अभियान चलाउने भएको छ ।
पार्टीका सबै केन्द्रिय सदस्यहरुको जिम्मेवारीसहित पठाइएको मिसन जागरण अवधारणामा गत निर्वाचनको समिक्षा, पार्टीले हार व्योहोर्नुका कारण, कार्यकर्ता र जनताको पार्टीप्रति निराश हुनुको कारण आदि विस्तृत रुपमा केलाइने बताइएको छ । मुख्यगरी २०७४ को निर्वाचनमा वाम गठबन्धनका कारण उत्साहित भएका जनता माओवादीसँगको पार्टी एकता टिकाउन नसक्दा र पछि एमाले फुट्दा निराश भएर पलायन भएको पार्टीले पठाएको दस्तावेजमा उल्लेख छ ।
‘२०७४ को आम निर्वाचन र नेकपाको गठनबाट उत्साहित बनेको जनमत नेकपाको विघटन र एमालेको विभाजनबाट समेत निराश हुँदै क्रमशः बैकल्पिक शक्तितर्फ आकर्षित भएको हो’ पार्टीले तयार गरेको मिसन जागरण अभियानको अवधारणामा भनिएको छ, ‘आकस्मिक रु अस्वभाविक रुपमा आम निर्वाचनबाट नेपालको राजनीतिमा मुख्य शक्तिका रुपमा स्थापित रास्वपा नेपालको अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो ।’
पार्टी र पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामहरु जनस्तरसम्म प्रचार गर्न नसक्दा त्यसको असर आम जनतासम्म पुगेको एमालेको ठक्याइ छ । जसका कारण भदौ २३ र २४ गतेका विध्वंसकारी घटना भएको र मुलुकलाई नियोजित प्रतिगमनतर्फ धकेलिएको एमाले दस्तावेजमा उल्लेख छ ।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार मिसन जागरण अभियानको जिम्मेवारी लिने नेताहरुले वर्तमान राजनीतिको पृष्ठभूमि, निर्वाचन पराजयका कारण र पार्टीको भावी नीतिका बारेमा स्पष्ट होउन् भन्ने उद्देश्यले विस्तृत र सरल भाषामा अवधारणापत्र तयार गरिएको बताउनुभयो । उहाँका अनुसार पार्टीका नेताहरु विगतदेखिको राजनीतिक उतारचढाव, निर्वाचन पछिको पार्टीको राजनीतिको मूल्याङ्कन र भावी कार्यदिशाबारे स्पष्ट भएर मातहतमा सही सन्देश प्रवाह गर्न सकुन् भन्ने पार्टी केन्द्रले सोचेको बताउनुभयो ।
पार्टी कमजोर हुनाका कारण, देशी विदेशीको चलखेल, निर्वाचनमा एमालेविरुद्ध अल्गोरिदमको प्रयोगजस्ता विषयहरु विस्तृत रुपमा व्याख्या गरिएको आचार्यले भन्नुभयो, ‘एमालेले अब गर्नुपर्ने डिजिटल वार, त्यसको प्रयोग र जनतासँगको सम्बन्ध सुधार तथा कमिटी प्रणाली सञ्चालनका विधि समेत उल्लेख गरेर मिसन जागरणको डकुमेन्ट पठाएका छौं ।’
जनतासँगको सम्बन्ध सुधारका लागि एमालेले ‘६ ज’ को नीति अघि सारेको छ । जसअनुसार ‘जनतामा जाऔं, जनताका कुरा सुनौं, जनप्रिय बनौं, जनसंगठन परिचालन गरौं, जबजलाई आत्मसात गरौं र जनमत सर्वेक्षणका आधारमा समेत प्रत्येक तहमा प्रतिष्पर्धामा सफलता हासिल गर्न सक्ने योग्य र सक्षम नेतृत्व तयार गरौं’ एमालेको दस्तावेजमा उल्लेख छ ।
एमालेले डिजिटल संगठन र प्रभावकारी प्रचारलाई प्राथमिकतामा राखेको छ । पार्टीले सामाजिक सञ्जालको व्यापक प्रयोग गर्न कार्यकर्तालाई निर्देशन जारी गरेको छ । उसले ‘अल्गोरिदम’ र ‘पर्सेप्सन म्यानेजमेन्ट’ मा विशेष ध्यान दिन कार्यकर्तालाई भनेको छ।
३१ पेजको सो अवधारणाापत्रमा पार्टीका नेताहरुको जिम्मेवारी तोकिएको छ । प्रमुख आचार्यका अनुसार सबै केन्द्रीय सदस्यहलाई पालिकाको जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्यले नपुगेका ठाउँमा पार्टीका अन्य नेताहरुलाई समेत जिम्मेवारी दिइएको छ । जिम्मेवारी पाएका नेताहरु स्थलगत रुपमा खटेका छन् कि छैनन् भनेर अनुगमनको पनि व्यवस्था गरिएको छ । केन्द्रबाट खटिने नेताहरुलाई होटलमाभन्दा जनताको घरमै बस्न आग्रह गरिएको आचार्यले बताउनुभयो । आचार्यका अनुसार यो अभियान र जिम्मेवारी आगामी स्थानीय तह र प्रदेशको निर्वाचनसम्म कायम रहने उहाँले बताउनुभयो ।
इरानसँग शान्ति सम्झौतालगत्तै होर्मुज जलडमरू खुल्ने ट्रम्पको दावी
‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’
एमालेले सबै केन्द्रीय सदस्यलाई पठाएको ३१ पृष्ठको ‘मिसन पार्टी जागरण’मा के छ?
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
फिफा विश्वकप २०२६ : अष्ट्रेलियाको विजयी सुरुवात, टर्कीलाई २-० ले पराजित
आज होला त अमेरिका र इरानबिच युद्ध अन्त्य सम्झौता?
२ दिनमा १५ हजार २ सय घटेर शुक्रबार तोलामा ५३ सय बढेको सुनको भाउ आज थप बढ्यो
प्रतिक्रिया