c

काठमाडौं, असार ३० — लागूऔषध नियन्त्रण ब्युरो ले विशेष अपरेशनका क्रममा गोली प्रहार गरी नियन्त्रणमा लिएको कारबाट ३० हजार क्याप्सुल ट्रामाडोल बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन्।

ब्युरोका अनुसार सिम्रौनगढ बाट काठमाडौंतर्फ ठूलो परिमाणमा ट्रामाडोल ल्याइँदै गरेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। असार ३० गते ललितपुर महानगरपालिका–२३ गैरीगाउँ क्षेत्रमा निगरानीका क्रममा बागमती प्रदेश ०१–०३० च ९२०१ नम्बरको सुजुकी कार र त्यसको समन्वयमा रहेको बा.५२ प.५४५७ नम्बरको मोटरसाइकललाई रोक्न खोजिएको थियो।

तर चालकले प्रहरीको संकेत अटेर गर्दै भाग्न खोजेपछि प्रहरीले कारको पछाडिको दाहिने टायरमा एक राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको जनाएको छ।

कारको खानतलासी गर्दा पछाडिको डिक्कीमा लुकाइछिपाइ राखिएको अवस्थामा ३० हजार क्याप्सुल ट्रामाडोल फेला परेको थियो। प्रहरीले घटनास्थलबाट सुजुकी कार, यामाहा एफजेड मोटरसाइकल तथा पाँच थान मोबाइल फोनसमेत बरामद गरेको छ।

पक्राउ पर्नेमा जितेन्द्र पासवान, अहमद लडुन र महमद सहाम रहेका छन्।

ब्युरो प्रमुख सुबास चन्द्र बोहरा ले लागूऔषध तस्करी नियन्त्रणका लागि सूचना सङ्कलन, निगरानी तथा विशेष अपरेशनलाई थप प्रभावकारी बनाइएको बताए। उनले सीमा क्षेत्रदेखि राजधानीसम्म फैलिएको अवैध कारोबार नियन्त्रणका लागि अभियानलाई निरन्तरता दिइने तथा नयाँ शैलीका तस्करी सञ्जालमाथि कडा निगरानी राखिएको जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। एसएसपी बोहराले ब्युरोको नेतृत्व सम्हालेको करिब एक सातामै यो ठूलो बरामदगी भएको हो।