दीपक भट्ट नाम एक, जालो अनेक, बैंकदेखि ब्रोकर र बिमासम्म फैलिएको भट्ट–साझेदारको अर्बौं कारोबार
काठमाडौं । दीपक भट्ट र उनका साझेदारहरूमाथि बैंक, ब्रोकर र बिमासम्बन्धी अर्बौंको शंकास्पद कारोबार तथा सम्पत्ति शुद्धीकरणको आरोपमा चार वटा मुद्दा दायर गरिएको छ।
अनुसन्धानमा उनीहरूले कानुन छलेर सञ्जाल खडा गरी वित्तीय अपराध गरेको, रकमको स्रोत खुलाउन नसकेको र एकअर्कालाई दोष थोपरेको देखिएको छ।
अहिले काठमाडौं जिल्ला अदालत, पाटन उच्च अदालत र विशेष अदालतमा ८६ जनाविरुद्ध मुद्दा चलिरहेको छ र प्रारम्भिक सुनुवाइ सुरु भइसकेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृतहरूले वार्षिक कारोबारबारे सोध्दा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टले भने, ‘त्यो यकिन भन्न सक्दिनँ तर वार्षिक आय भने करिब ३० करोड हुने गरेको छ ।’
त्यसको केही क्षणअघि मात्र उनलाई जगदम्बा स्टिल्सलाई बुझाएको ७५ करोड २६ लाख ३२ हजार रुपैयाँको स्रोत सोधिएको थियो । जवाफमा उनले भनेका थिए, ‘स्रोत हाल खुलाउन सक्दिनँ, पछि कारोबार हेरेर भन्न सक्छु ।’
वैध आम्दानीभन्दा बढी अस्वाभाविक आर्थिक कारोबारमा संलग्न भन्दै भट्ट र उनका ‘व्यापारिक साझेदार हरूमाथि सम्पत्ति शुद्धीकरण तथा बैंकिङ, धितोपत्र र बिमासम्बन्धी कसुरमा चार वटा मुद्दा दायर भएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले धितोपत्र बोर्ड र राष्ट्र बैंक सुपरिवेक्षण विभागको छानबिन प्रतिवेदनका आधारमा संयुक्त तथा शृंखलाबद्ध अनुसन्धान गरी बिहीबार विशेष अदालत, उच्च अदालत पाटन र काठमाडौं जिल्ला अदालतमा ती मुद्दा दर्ता गरेका हुन् ।
त्यसमा भट्टसहित उनका व्यावसायिक साझेदारहरू शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल तथा उपाध्यक्षद्वय शुलभ र साहिल अग्रवाल, गोल्छा समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाह, लक्की समूहका प्रबन्ध निर्देशक अमित मोरलगायत ८६ जनाविरुद्ध मुद्दा दायर भएको छ । जसमध्ये सबैभन्दा बढी भट्टको हकमा करिब २७ अर्ब र त्यसपछि शुलभ अग्रवालका हकमा साढे २५ अर्बभन्दा बढीको बिगो कायम गरिएको छ ।
दायर भएका चार वटा अभियोगपत्र केलाउँदा यस प्रकरणका मुख्य पात्रहरू भट्ट, अग्रवाल, गोल्छा, मोर, शाहलगायतले आफू निर्दोष रहेको दाबी गर्दै सारा दोष अरूमाथि थोपरेका छन् । सरकारी वकिलले तयार पारेका यी अभियोगपत्रहरूमा उनीहरूले सञ्जाल खडा गरी कानुनको आँखा छलेर ‘वित्तीय अपराध’ गर्न ‘कागजी जग्गा बैना’ देखि ‘पारिवारिक अंशबन्डा’ सम्म गरेको देखिन्छ ।
ती अभियोगपत्रहरूमा उल्लेख भएअनुसार यो समग्र प्रकरणको सुरुआत भदौ–असोज २०७९ मा शंकर समूहअन्तर्गतको जगदम्बा स्टिल्सको मेगा इन्भेस्टमेन्ट बैंकको खाताबाट भट्टको सिद्धार्थ बैंकमा रहेको खातामा ५४ करोड ५० लाख रुपैयाँ पठाएर भएको छ । भट्टका अनुसार ललितपुरको सानेपास्थित ५४ आना जग्गा जगदम्बालाई बिक्री गर्न बैनाबापत उनले उक्त रकम लिएका थिए ।
२०७८ को पूरक बजेट र २०७९ को बजेट ल्याउँदा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले जगदम्बा स्टिल्सलाई लाभ हुने गरी करका दर हेरफेर गरेको आरोप लागेको थियो । त्यसमा भट्टले भूमिका खेलेको र त्यसैबापत उनलाई जगदम्बा स्टिल्सले उक्त रकम दिएको आरोप लागेको थियो । सार्वजनिक रूपमा यस्तो आरोप लागेपछि नै राष्ट्र बैंकले उक्त शंकास्पद लेनदेनमाथि अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको थियो । त्यो बिन्दु नै आजको अभियोजनको प्रारम्भिक अनुसन्धान थियो ।
अभियोजनकर्ताहरूका अनुसार त्यो रकम सुरुमा जगदम्बा स्टिल्सबाट भट्टको व्यक्तिगत खातामा पुग्यो, त्यहाँबाट उनले आफ्नो एकल स्वामित्वको इन्फिनिटी होल्डिङ्सको खातामा पठाए र त्यसपछि हिमालयन रिइन्स्योरेन्समा लगानी गरे । जगदम्बाले तत्कालीन नेपाल इन्भेस्टमेन्ट बैंकबाट लिएको ‘वर्किङ क्यापिटल लोन’ लाई कानुनविपरीत जग्गा खरिदका लागि प्रयोग गर्दै भट्टलाई दिएको अभियोगपत्रमा उल्लेख छ ।
त्यसको केही समयपछि भट्टले जगदम्बालाई ७५ करोड २६ लाख ३२ हजार रुपैयाँ पठाए । उनले बयानमा जगदम्बाले आर्थिक कारण देखाएर जग्गा खरिद गर्न नसकेपछि बैनाबापतको रकम ब्याजसहित फिर्ता गरेको बताएका छन् ।
सिद्धार्थ बैंकको विशेष स्थलगत निरीक्षण प्रतिवेदनअनुसार ७५ करोडमध्ये ६७ करोड ९० लाख जगदम्बा समूहकै पैसा हो । अग्रवाल परिवारका खाताहरूबाट भट्टलाई गएको रकममा कृषिव अग्रवाल (शुलभ अग्रवालका छोरा) बाट १४ करोड ३२ लाख, शुभी अग्रवाल (शुलभ अग्रवालकी पत्नी) बाट १३ करोड १८ लाख, शुलभ अग्रवालबाट १० करोड ३० लाख, शाहिल अग्रवालबाट ९ करोड, जाना अग्रवाल (शुलभ अग्रवालकी छोरी) बाट ८ करोड ३० लाख, ललिता अग्रवाल (शुलभ अग्रवालकी आमा) बाट ८ करोड ३० लाख, शंकरलाल अग्रवालबाट ४ करोड ५० लाख थियो । बाँकीमध्ये दीपक भट्टकी पत्नी आयुष्मा नेपाल भट्टबाट १० करोड १७ लाख र भट्ट एकल सेयरधनी भएको कम्पनी इन्फिनिटी होल्डिङ्सबाट २९ लाख ४१ हजार गएको थियो ।
अनुसन्धानकर्ताहरूले यसलाई जगदम्बा स्टिल्सले बैंकबाट ऋण लिएको रकम परिवारका सदस्यहरूको खातामा घुमाएर ‘राउन्ड ट्रिपिङ’ गरी भट्टको खातामा रकमान्तर गरिएको बताएका छन् । भट्ट भने उक्त रकमलाई केवल ‘सापटी’ भन्छन् ।
काठमाडौं जिल्ला अदालतमा दर्ता भएको धितोपत्रसम्बन्धी अभियोगपत्रअनुसार ५ साउन २०८२ देखि १ चैतसम्म भट्टले यही ब्रोकरमार्फत ३ अर्ब ८० करोड ५३ लाखको धितोपत्र किने । त्यो पनि एक रुपैयाँ पनि अग्रिम रकम नबुझाई । जबकि कानुनअनुसार ब्रोकर कम्पनीले क्रेताबाट कम्तीमा २५ प्रतिशत रकम अग्रिम प्राप्त गर्नुपर्छ । त्यही अवधिमा भट्टले सोही ब्रोकिङ कम्पनीमार्फत ९३ करोड ५ लाखको सेयर बिक्री गरेका थिए । उक्त रकम घटाउँदा पनि भट्टले अझै दुई अर्ब ८९ करोड २० लाख रुपैयाँ तिर्न बाँकी छ ।
यही उधारो कारोबारले सिर्जना गरेको कृत्रिम मागमा नेपाल रिइन्स्योरेन्सको सेयरमूल्य ५ साउन २०८२ दिउँसो १ हजार ४ सय ६१ बाट १० भदौसम्ममा १ हजार ६ सय ८६ रुपैयाँ पुग्यो । अर्थात् ५ हप्तामा साढे १५ प्रतिशतको वृद्धि भएको थियो । अभियोगपत्रमा भनिएको छ, ‘यसबाट दीपक भट्ट, भृकुटी स्टक ब्रोकिङ, हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन क्यापसर्ब (हिमालयन रिइन्स्योरेन्सको शतप्रतिशत स्वामित्व रहेको), नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी (दीपक भट्टको १५ प्रतिशत स्वामित्व रहेको) समेतको मिलेमतोमा नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य बढाउने प्रपञ्च रचेको देखिन्छ ।’
विशेष अदालतले भट्ट र अग्रवाललगायत ३९ जनाविरुद्धको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा शुक्रबार नै प्रारम्भिक सुनुवाइ थालेको छ । न्यायाधीशहरू सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासमा भट्टको बयान सुरु भएको छ, जसलाई सोमबार पनि निरन्तरता दिइने अदालतले जनाएको छ । त्यसपछि शुलभको बयान हुनेछ । दुवैको बयान सकिएपछि यो मुद्दाको अन्तिम फैसला नआउन्जेल उनीहरूलाई थुनामै राख्ने अथवा धरौटी र साधारण तारिखमध्ये केमा छाड्ने भन्ने निर्णय अदालतले दिनेछ ।
धनगढीमा विवादित घटना: डिभिजन वन कार्यालयका कर्मचारीमाथि टेम्पो भिरबाट खसाले…
कांग्रेसले संस्थापनइतर पक्षलाई पठाएको सहमति प्रस्तावमा के छ ?
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
धरानको पानी योजनामा हर्क साम्पाङलाई श्रेय दिन नहुने दाबी, ‘बालेनको प्रतिबद्धत…
अमेरिका-इरान युद्ध अन्त्यका लागि आजै सम्झौता हुने ट्रम्पको दाबी
विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
प्रतिक्रिया