आज विराटनगरमा देउवा र कोइराला समूहको संयुक्त भेला

काठमाडौं । कोशी प्रदेशको विराटनगरमा आज (शनिबार) नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहको संयुक्त भेला हुँदै छ ।

कोशी प्रदेशस्तरीय भेलामा १४ औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धामा उत्रिएका नेता कोइरालालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ ।

कांग्रेस कोशी प्रदेश कार्यसमितिका महामन्त्री भुपेन्द्र राईले देउवा समूह र कोइराला समूहको संयुक्त आयोजनामा भेला हुन लागेको बताए । ‘शेरबहादुर दाइको पुरानो टिम, शेखर दाइको टिमको संयुक्त कार्यक्रम हो,’ उनले  भने ।

यसअघि देउवा समूहले गरेका प्रदेश भेलाहरूमा कोइराला समूहका नेताहरु उपस्थित भएका थिएन् ।


महामन्त्री राईले कोशी प्रदेशबाट दुवै समूहबीच सहकार्य सुरू हुन लागेको बताए । ‘कोशीबाट सुरू गर्ने भनेर सुरू गर्न लागेका हौं,’ उनले भने ।

महामन्त्री राईका अनुसार विराटनगरको मनास्लु होटलमा भेला तय भएको छ । कोइरालाको प्रमुख आतिथ्यतामा हुन गइरहेको भेलामा नेताहरू कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार डा. शशांक कोइराला, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी, एनपी साउद प्रमुख वक्ता रहेका छन् ।

इतर समूहले केन्द्रीय सदस्य राजीव कोइरालाको नाम पनि प्रमुख वक्ताका रुपमा राखेर सामाजिक सञ्जालमा भेलाको प्रचार गरेको छ । तर, उनले आफूसँग सल्लाह नै नगरी नाम राखिएको भन्दै आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा प्रचार–प्रसारका लागि तयार गरिएको सामग्रीमा कोशी प्रदेश स्तरीय भेलालाई ‘ऐतिहासिक बृहत भेला’ भनिएको छ ।

देउवा समूहले यसअघि बागमती, कर्णाली, गण्डकी र सुदूरपश्चिममा प्रदेशस्तरीय भेला आयोजना गरिसकेको छ ।