स्पेसएक्सको आईपीओले इलन मस्कलाई बनायो विश्वकै पहिलो ट्रिलियन डलर सम्पत्तिको मालिक

काठमाडौं ।

स्पेसएक्सको आईपीओले इलन मस्कलाई विश्वकै पहिलो ट्रिलियन डलर सम्पत्तिका मालिक बनाएको छ।

महत्त्वाकांक्षी उद्यमी इलन मस्क व्यवसायिक जगतका त्यस्ता व्यक्तिमध्ये एक हुन्, जसले इन्टरनेट संस्कृतिमा केन्द्रीय स्थान बनाएका छन् र यति ठूलो सम्पत्ति आर्जन गरेका छन् कि उनी विश्वकै पहिलो ट्रिलियन डलर सम्पत्तिका मालिक बनेका छन्।

असमानताबारे चिन्ता बढिरहेको र अति धनी व्यक्तिप्रति जनधारणा नकारात्मक बन्दै गएको समयमा पनि मस्कले आफ्ना समर्थकहरूको बलियो आधार कायम राख्न सफल भएका छन्। उनको सम्पत्ति आकाश छुने स्तरमा पुगे पनि अन्य अर्बपति जस्तै सर्वसाधारणलाई आकर्षित गर्ने सरल व्यक्तित्व उनीसँग छैन।

समर्थकहरूले मस्कको खुला र फिल्टरविहीन अभिव्यक्तिलाई उनको आकर्षणको हिस्सा मान्छन् भने आलोचकहरूले उनीमाथि कुलीन शासकजस्तो शक्ति प्रयोग गरेको, उनका कम्पनीहरूको व्यवस्थापनबारे प्रश्न उठाएको तथा राजनीतिमा बढ्दो हस्तक्षेपको आलोचना गरेका छन्।

रकेट, स्याटेलाइट र कृत्रिम बुद्धिमत्ता क्षेत्रमा काम गर्ने स्पेसएक्स तथा विद्युतीय सवारी निर्माता टेस्ला मस्कको व्यावसायिक साम्राज्यका केन्द्रमा रहेका छन्।

स्पेसएक्सले बिहीबार आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत कीर्तिमानी ७५ अर्ब डलर उठाएको छ, जसले मस्कका व्यवसायप्रति लगानीकर्ताको उत्साह देखाएको छ। शेयर बिक्रीअघि फोर्ब्सले मस्कको कुल सम्पत्ति करिब ७८० अर्ब डलर आँकेको थियो, जुन दोस्रो स्थानमा रहेका अल्फाबेटका सह–संस्थापक ल्यारी पेजभन्दा धेरै बढी हो।

रोयटर्सका अनुसार फोर्ब्स वेल्थका उपसम्पादक म्याट डुरोटका अनुसार दोस्रो धनी व्यक्तिको सम्पत्ति करिब ३०० अर्ब डलरको हाराहारीमा रहेको छ, जुन मस्कको सम्भावित सम्पत्तिको एकतिहाइभन्दा पनि कम हो। उनका अनुसार ओरेकलका संस्थापक ल्यारी एलिसन मात्र ४०० अर्ब डलर सम्पत्तिमा पुगेका अर्का व्यक्ति हुन्।

हाल मस्कको अधिकांश सम्पत्ति स्पेसएक्समा रहेको छ, जहाँ उनको हिस्साको मूल्य करिब ८६६ अर्ब डलर रहेको अनुमान गरिएको छ। टेस्ला तथा अन्य सम्पत्तिसहित शुक्रबारदेखि शेयर कारोबार सुरु भएपछि उनको कुल सम्पत्ति १.१ ट्रिलियन डलरभन्दा बढी हुने फोर्ब्स र रोयटर्सको गणनाले देखाएको छ।

मस्क टेस्ला र स्पेसएक्समार्फत चर्चित बनेका थिए। सन् २०२२ मा उनले ४४ अर्ब डलरमा ट्विटर खरिद गरेपछि उनको प्रभाव अझ विस्तार भयो। यसले उनलाई करोडौं प्रयोगकर्तासम्म प्रत्यक्ष पहुँच दियो र राजनीति, आप्रवासन, सरकारी खर्च तथा अभिव्यक्ति स्वतन्त्रताजस्ता विषयमा प्रभावशाली आवाज बनायो।

राजनीतिमा उनको प्रवेश, विशेषगरी गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारी कार्यकुशलता विभागमा खेलेको भूमिकाले धेरै विवाद निम्त्यायो। त्यसको प्रभावसँगै सन् २०२५ मा विभिन्न अन्तर्राष्ट्रिय बजारमा टेस्लाको बिक्री घट्यो, जहाँ विरोध प्रदर्शन र बहिष्कार अभियान सञ्चालन गरिएको थियो।

५४ वर्षीय मस्कको जन्म दक्षिण अफ्रिकाको प्रिटोरियामा क्यानडेली आमा र दक्षिण अफ्रिकी बुवाको सन्तानका रूपमा भएको थियो। उनले पेन्सिलभेनिया विश्वविद्यालयबाट सन् १९९७ मा स्नातक गरेका थिए।

सन् २००८ मा टेस्लाको प्रमुख कार्यकारी अधिकृत बनेपछि उनले विद्युतीय सवारीलाई उच्च प्रदर्शन र सफ्टवेयर–आधारित सुविधासहितको उत्पादनका रूपमा विकास गर्ने लक्ष्य लिए। धेरै विश्लेषकहरूका अनुसार टेस्लाको सफलता र ट्रिलियन डलरभन्दा माथिको बजार मूल्यले परम्परागत सवारी उत्पादकहरूलाई पनि विद्युतीय गाडीतर्फ मोड्न प्रेरित गर्‍यो।

धेरै लगानीकर्ताहरू मस्कले अन्तरिक्ष र कृत्रिम बुद्धिमत्ता क्षेत्रमा पनि यस्तै सफलता दोहोर्‍याउने विश्वास गर्छन्। तर स्पेसएक्सलाई अझै ठूलो मात्रामा पूँजी आवश्यक छ र यसको मूल्याङ्कनको ठूलो हिस्सा यस्ता प्रविधिमा आधारित छ, जसलाई व्यावसायिक रूपमा सफल हुन वर्षौं वा दशकौं लाग्न सक्छ।

टेस्ला र स्पेसएक्सबाहेक मस्कले टनेल निर्माण कम्पनी द बोरिङ कम्पनी र मस्तिष्कमा प्रत्यारोपण गरिने उपकरण बनाउने न्युरालिङ्कसहित पाँच अन्य कम्पनीको सह–स्थापना गरेका छन्।

टेस्लाका प्रमुख कार्यकारी अधिकृतका रूपमा मस्कले प्रशंसा र विवाद दुवै कमाएका छन्। उनलाई टेस्लालाई विश्वकै सबैभन्दा मूल्यवान् सवारी निर्माता बनाएको श्रेय दिइन्छ। परम्परागत सवारी कम्पनीका धेरै अधिकारीहरूले वर्षौंसम्म टेस्लालाई गम्भीर प्रतिस्पर्धी मानेका थिएनन्।

जनरल मोटर्सका पूर्व उपाध्यक्ष बब लुट्जले भने, “उनले अटोमोबाइल इन्जिनियरिङमा अमेरिकी सिर्जनशीलताप्रति विश्वको सम्मान पुनर्जीवित गरेका छन्।”

यद्यपि टेस्लाले कानुनी चुनौती र शेयरधनीहरूको चिन्तासमेत सामना गरेको छ, विशेषगरी सन् २०१८ मा स्वीकृत मस्कको पारिश्रमिक प्याकेजका कारण, जसको मूल्य एक समय ५६ अर्ब डलर पुगेको थियो।

मस्कको प्रभाव यति व्यापक भएको छ कि बजार विश्लेषकहरूले उनका कम्पनीहरूको नेटवर्कलाई “मस्कोनोमी” नाम दिएका छन्।

यसले केही लगानीकर्ताले “इलन प्रिमियम” भन्ने अवधारणालाई जन्म दिएको छ, जहाँ मूल्याङ्कन परम्परागत वित्तीय सूचकभन्दा बढी मस्कको दृष्टिकोणप्रतिको विश्वासमा आधारित हुन्छ।

रेनेसाँ क्यापिटलका वरिष्ठ रणनीतिकार म्याट केनेडीले भने, “टेस्लाजस्तै स्पेसएक्स पनि इलन मस्कमाथिको विश्वासको लगानी हो।”

उनका अनुसार १.५ ट्रिलियनदेखि २ ट्रिलियन डलरसम्मको बजार मूल्यले परम्परागत मूल्याङ्कनका सबै मापदण्डलाई चुनौती दिनेछ र यसलाई ‘इलन मस्क प्रिमियम’ भनेर बुझ्न सकिन्छ।

एक व्यक्तिमा अत्यधिक प्रभाव केन्द्रित हुँदा कम्पनी प्रशासन, स्वार्थको द्वन्द्व तथा एक व्यक्तिमाथि अत्यधिक निर्भर रहने जोखिमबारे चिन्ता पनि बढेको छ।

वर्षौंदेखि मस्कले नियामक निकाय, अर्बपति, सर्ट सेलर, पत्रकार तथा रोयटर्ससहितका सञ्चारमाध्यमसँगका विवादलाई सार्वजनिक बहसको विषय बनाउँदै आएका छन्।

ट्रम्पसँगको उनको सम्बन्ध पनि यस्तै ढाँचामा अघि बढ्यो। ट्रम्पको पुनः ह्वाइट हाउस प्रवेशका लागि आर्थिक सहयोग गरेपछि र प्रशासनमा वरिष्ठ सल्लाहकारको भूमिका निभाएपछि मस्क राष्ट्रपति ट्रम्पका निकट व्यावसायिक सहयोगी बनेका थिए।

तर पछि नीति र खर्चसम्बन्धी असहमतिका कारण सम्बन्ध बिग्रियो र सार्वजनिक विवादमा परिणत भयो। यद्यपि हाल दुवैले सम्बन्ध सुधारिएको संकेत दिएका छन्। यो घटनाले मस्कको व्यापारिक साम्राज्य र राजनीतिक महत्वाकांक्षाबीचको सीमारेखा झन् अस्पष्ट बनेको देखाएको छ।

यद्यपि धेरै लगानीकर्ताका लागि मस्कको असामान्य व्यवहारभन्दा पनि महत्वाकांक्षी विचारलाई विश्वकै मूल्यवान् कम्पनीहरूमा रूपान्तरण गर्ने उनको क्षमता बढी महत्वपूर्ण छ।

जेपीमोर्गन चेसका प्रमुख कार्यकारी अधिकृत जेमी डाइमनले हालै मस्कसँगको कुराकानीमा भने, “इलन हाम्रो समयका एडिसन हुन्।”

एक समय लामो कानुनी विवादका कारण मस्कका प्रतिद्वन्द्वी रहेका डाइमन अहिले उनका प्रशंसक बनेका छन्। उनले गत वर्ष सीएनबीसीसँग कुरा गर्दै आफूहरूबीच सम्बन्ध सुधार भएको बताउँदै मस्कलाई “हाम्रा आइन्स्टाइन” भनेका थिए।