बजेटमा करको दर हेरफेरः अर्थमन्त्रीको धम्कीपूर्ण अभिव्यक्तिले बिच्किए सांसद
काठमाडौँ । आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयलाई लिएर संसद् र संसदीय समितिमा भइरहेको छलफलका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अभिव्यक्तिले विवादित बनेको छ ।
आफूमाथि उठेका प्रश्नको जबाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले सांसदहरूलाई लक्षित गर्दै फाइल खोल्ने र काण्डहरू सार्वजनिक गर्ने धम्कीपूर्ण भाषा प्रयोग गरेपछि प्रतिपक्षी सांसद बिच्चिएका हुन्
के भनेका थिए वाग्लेले ?
बिहीबार बिहान बसेको सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्री वाग्लेले विगतमा पनि आर्थिक विधेयक सच्याइने गरिएको दाबी गर्दै अहिले आफूले पनि सच्याएको स्वीकार गरेका थिए ।
तर, गल्ती स्वीकार गर्नुको सट्टा उनले पहिले ७३ ठाउँमा सशोधन भएकोमा आफूले ७ ठाउँमा मात्रै संशोधन गरेको भन्दै उनी उम्किने प्रयास गरे । उल्टो उनले पुराना फाइल खोल्ने चेतावनी दिँदै भने– ‘हिजोकाले ७० वटा गरे, अहिले ६–७ वटा मात्रै सामान्य त्रुटि भएको हो ।’
बिहीबार नै साँझ प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा जबाफ दिँदै अर्थमन्त्री वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोपहरूको खण्डन गरे । करका दर हेरफेर गरेर निश्चित व्यापारीलाई पोसेको र २ अर्बको घोटाला गरेको भन्ने आरोप निराधार रहेको उनले दाबी गरे ।
‘२ अर्ब होइन, २ रुपैयाँको मात्र बदमासी वा बेइमानी मबाट भएको प्रमाणित भए म मन्त्री पद र सार्वजनिक जीवन नै त्याग्न तयार छु,’ उनले भने ।
सुशासनको कठोर एजेन्डा लिएर आएको दुई महिनामै जनतालाई धोका दिन नसक्ने जिकिर गर्दै उनले आफूमाथि प्रश्न उठाउने सांसदहरूलाई नै नैतिक उचाइ कायम राख्न चुनौती दिए ।
‘मप्रति औँलो ठड्याउने माननीयज्यूहरूलाई पनि यही नैतिक उचाइ प्राप्त होस् । तपाईंका काण्डका बारेमा हामी अनभिज्ञ छैनौं, । ती पनि खुल्नेछन्,’ संसद्मै अर्थमन्त्री वाग्लेले चेतावनी दिए । उनले व्यक्तिगत लाञ्छना लगाउनुअघि तथ्यमा आधारित हुन सांसदहरूलाई आग्रह गरेका थिए ।
प्रतिनिधि सभामा सांसदहरूको आपत्ति
उक्त विषयलाई लिएर शुक्रबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले आपत्ति जनाएका छन् । यसमा छानबिन गर्ने आवश्यकता महसुस भएको उनीहरुको भनाइ छ ।
प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै पूर्वअर्थमन्त्री समेत रहेका नेपाली कम्युनिष्ट पार्टीकी वर्षमान पुनले त अर्थमन्त्रीको यो अभिव्यक्तिसँगै सरकारले आर्थिक विधेयकमा गरेको हेरफेरको सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्न माग नै गरेका छन् । उनले अर्थमन्त्रीले गरेका त्रुटि आर्थिक अपराध भएको भन्दै छानबिनको माग गरे ।
पूर्वमन्त्री पुनले यसअघि विपक्षी दलहरूले शङ्काको सुविधा दिए पनि अर्थमन्त्रीको धम्कीपूर्ण भाषाले छानबिन समिति अपरिहार्य भएको उल्लेख गरे ।
उनले आफूसमेत अर्थमन्त्री भएको भन्दै त्यतिबेलाको समेत छानबिन गर्न चुनौती दिए । उनले पुरानो र नयाँ भनेर विषयान्तर गरेको भन्दै आपत्ति जनाए । उनले विधेयकको प्रोसेस हुने र यो क्याबिनेटबाट पारित हुने भन्दै यसले संसदको मानहानि भएको बताए ।
पुनले भरतमोहन अधिकारीको समयमा बजेट लिक भएपछि बनेको छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा अहिले बजेट बनाउने प्रक्रिया फलो भइरहेको स्मरण गराए । उनले खुलमखुला करको दर हेरफेर गर्नु आपत्तिजनक भएको बताए ।
त्यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि करका दर हेरफेरमाथिको आरोपलाई छानबिन गर्न माग गरे । मन्त्रीमाथि लागेको आरोपलाई आफ्नै कर्मचारीबाट छानबिन गराउने र प्रतिवेदन सार्वजनिक नभएको भन्दै अहिले र पहिलेदेखिकै छानबिन गर्नुपर्ने उनको भनाइ छ ।
नेकपा एमालेका संसाद गुरुप्रसाद बरालले विगतको घटनालाई देखाउँदै अर्थमन्त्रीले राजस्वका दरमाथि छेडखानी गरेर करको दरलाई तलमाथि गर्ने प्रयास गरेको भन्दै यसबाट उम्किन नपाउने बताए । उनले समेत विगतका सबै अपराधको छानबिन गर्न आफू तयार एको भन्दै अहिलेको छेडखानीको सन्दर्भमा समेत संसदीय छानबिन समिति गठन गरेर यो विषयलाई निरुपण गर्न माग गरे ।
त्यस्तै, कांग्रेसमा नेता अरजुननरसिंह केसीले समेत आपत्ति जनाए । उनले प्रश्न गर्ने सांसदलाई तपाईंको काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादा विपरीत भएको बताए । उनले संसद् तर्क बहस र छलफलको ठाउँ भएको भन्दै यसमा ध्यान दिन आग्रह गरे ।
सांसदहरुले संसदीय छानबिन समितिको माग गरे पनि छलफललाई भने निरन्तरता दिएका छन् ।
बिपी राजमार्गको बुच्चाकोट सेल्फी डाँडामा बस दुर्घटना : पाँच जनाको मृत्यु
हेटौँडाको दृश्यावलोकन र हाइकिङका कारण रोजाइमा मनकामना क्षेत्र
अर्थमन्त्री वाग्लेलाई सांसद पुनको कडा प्रहार — 'पुरानाको गल्तीको आधारमा नयाँले…
ट्रम्पले भने– आज रात इरानमा ठूलो हमला हुन्छ, इरानले दियो २२ देशलाई चेतावनी
अचम्मको चोरीकाण्ड : आफ्नै पसलबाट २ करोडको सुन चोरेर प्रहरीसामु गरे नाटक, पर्द…
दीपक भट्टविरुद्ध मुद्दा चल्दा वित्तीय क्षेत्रका ७ जना सीईओ निलम्बित
परराष्ट्रमन्त्री आगामी आइतबार चीन भ्रमणमा जाँदै
प्रतिक्रिया