इरानसँग सहमति भएको ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मुजतबा खामेनेईले नयाँ सम्झौताका लागि स्वीकृति दिएको दाबी गरेका छन् । यद्यपि, इरानले भने हालसम्म यस दाबीको आधिकारिक पुष्टि गरेको छैन ।

ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले नयाँ सम्झौताअनुसार इरानले कहिल्यै पनि परमाणु हतियार नराख्ने सहमति जनाएको र सम्झौता कार्यान्वयनमा आएपछि होर्मुज जलडमरूमध्य पनि पुनः खुला गरिने बताएका छन् ।

यसअघि ट्रम्पले इरानमाथि भीषण बमबारी गर्ने तथा इरानको तेल निर्यातको मुख्य केन्द्र खार्ग टापुमाथि नियन्त्रण कायम गर्ने चेतावनी दिएका थिए । तर त्यसपछि सामाजिक सञ्जालमार्फत उनले इरानविरुद्धका नयाँ हवाई आक्रमण र बमबारीका योजना रद्द गरिएको जानकारी दिएका थिए ।

ट्रम्पले आफ्नो निर्णय परिवर्तनको कारण इरानी नेतृत्वसँगको वार्ता उच्च तहमा पुगेको बताएका छन् । यद्यपि, उनले सम्झौता पूर्ण रूपमा टुंगो नलागेसम्म होर्मुज जलडमरूमध्यमा अमेरिकी नाकाबन्दी कायम रहने स्पष्ट पारे । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका र इरानबीचको विवाद अन्त्यतर्फ पुगेको दाबी पनि गरेका छन् ।

अमेरिकी सिनेट उम्मेदवार ब्यारी मूरको समर्थनमा आयोजित एक टेलिफोनिक भेलामा बोल्दै ट्रम्पले इरानले कहिल्यै परमाणु हतियार निर्माण नगर्ने प्रतिबद्धता जनाएको र अमेरिका सुरुदेखि नै यही अडानमा रहेको बताए ।


उनले अमेरिका र इरानबीच उत्कृष्ट सम्झौता भएको दाबी गर्दै अधिकांश विषयमा सहमति भइसकेको र आफूहरूले चाहेका मुख्य उद्देश्य हासिल गरेको बताएका छन्।


यद्यपि, ट्रम्पका यी दाबीबारे इरानको तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।