नेपालमा सुरु भयो पूर्वी वायुको प्रभाव, मनसुन भित्रिएको हो?

नेपालमा मनसुन भित्रिने औसत मिति (जुन १३ तारिख) नजिकै आउँदा पूर्वी वायुको आंशिक प्रभाव सुरु भएको छ। 

मौसमविद्का अनुसार पूर्वी वायु नै मनसुनको संकेत हो। 

‘तर त्यसको स्ट्रेन्थ पुगिनसकेकाले मनसुन भित्रिसकेको भन्न मिलेन’, मौसम महाशाखाका मौसमविद् विभूति पोखरेलले आज बिहान नेपालखबरसँग भनिन्, ‘यो प्रभाव फेरि भोलि नै हट्न पनि सक्छ।’

उनका अनुसार पूर्वी अर्थात् मनसुनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसुन भित्रिएको घोषणा गर्न मिल्छ। 

नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति (जुन १३ तारिख) भोलि शनिबार हो। 

‘आजभोलि नै मनसुन प्रवेशको घोषणा गरिएन भने यसपटक मनसुन औसत मितिभन्दा ढिला हुन सक्छ’, मौसमविद् पोखरेलले भनिन्।

मौसम महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वी वायुको समेत आंशिक प्रभाव छ।

यतिबेला (शुक्रबार बिहान) लुम्बिनी प्रदेशमा आंशिक बादल तथा बाँकी प्रदेशमा साधारणतया बादल लागेको छ। सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो कोसी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ तथा बाँकी तराईको आकाशमा आंशिक बादल लाग्नेछ। कोसी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। यी प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना छ। कोसी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

यस्तै राति कोसी प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने तराईको आकाशमा आंशिक बादल लाग्नेछ। कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। यी प्रदेशमा हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको मौसम महाशाखाले उल्लेख गरेको छ।