‘स्वीप अप्रेशन’मा पोखराका विभिन्न स्थानबाट ४० जना नियन्त्रणमा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले समाजमा अवैध गतिविधि, गुण्डागर्दी तथा शान्तिसुरक्षामा खलल पुर्‍याउने कार्य नियन्त्रण गर्न सञ्चालन गरेको ‘स्वीप अप्रेशन’ अन्तर्गत शनिबार विभिन्न स्थानबाट ४० जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पोखरा महानगरपालिका-१७ दोबिल्लामा मापसे गरी सवारीसाधन चलाउने दुई जना र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ जनालाई कारबाही गरेको छ।

त्यस्तै, पोखरा-२३ र २४ को घाँटीछिना क्षेत्रमा मापसे गरी सवारीसाधन चलाएका नौ जना र ट्राफिक नियम उल्लङ्घन गर्ने दुई जनालाई कारबाही गरिएको छ।

वडा प्रहरी कार्यालय बगरको टोलीले पोखरा-१६ अकलामा लागुऔषध सेवन गरी सवारीसाधन चलाउने एक जना, मापसे गरी सवारीसाधन चलाएका तीन जना तथा ट्राफिक नियम उल्लङ्घन गर्ने चार जनालाई नियन्त्रणमा लिई कारबाही गरेको प्रहरीले जनाएको छ।

यस्तै, माछापुच्छ्रे गाउँपालिका-८ भेडाभारी क्षेत्रमा मापसे गरी सवारीसाधन चलाएका चार जना, स्वरूप परिवर्तन गरी सवारीसाधन चलाउने एक जना र ट्राफिक नियम उल्लङ्घन गर्ने छ जनालाई कारबाही गरिएको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट परिचालित तालिमप्राप्त कुकुरसहितको टोलीले समेत सवारीसाधन जाँचमा सहभागिता जनाएको थियो।

प्रहरीका अनुसार ‘स्वीप अप्रेशन’ अन्तर्गत रातिको समयमा होहल्ला गर्ने, सार्वजनिक शान्तिसुरक्षामा खलल पुर्‍याउने, गाँजालगायत अवैध लागुऔषध सेवन गर्ने तथा जुवातासजस्ता अवैध गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी र कारबाही हुँदै आएको छ।

मदिरा तथा गाँजाजन्य पदार्थ सेवन गरेका व्यक्तिलाई सम्झाइबुझाइ अभिभावकको जिम्मा लगाउने गरिएको प्रहरीले जनाएको छ।

साथै, आपराधिक पृष्ठभूमि भएका, पटक-पटक यस्ता गतिविधिमा संलग्न हुने र प्रहरीमाथि दुर्व्यवहार गर्ने व्यक्तिविरुद्ध अदालतमा मुद्दा दर्ता गरी कानूनी प्रक्रिया अगाडि बढाइने प्रहरीको भनाइ छ।