सम्पत्ति छानबिनमा सुधन गुरुङको कडा 'काउन्टर': 'सफाइ पाएर पुनः गृहमन्त्री बने २ महिना बधाई र फोटो सेसन बन्द!'

काठमाडौँ — छानबिन समितिबाट आफूले सफाइ पाउनेमा पूर्ण आशावादी रहेको सुधन गुरुङले बताएका छन्। सार्वजनिक पदमा रहँदा उठेका प्रश्नहरूको सामना गर्न आफू तयार रहेको उल्लेख गर्दै उनले संसदीय छानबिन समितिसमक्ष आफ्नो स्पष्ट बयान दिइसकेको जानकारी दिए।

आइतबार पत्रकारहरूसँग कुरा गर्दै गुरुङले बयानका क्रममा सोधिएका कडा प्रश्नहरूको सहज र तार्किक जवाफ दिएको दाबी गरे।

"मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ," उनले भने, "बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु।"

बयानका क्रममा समितिले उनको सम्पत्तिको स्रोतमाथि प्रश्न उठाएको गुरुङले खुलाए। "समितिले मलाई 'यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो?' भनेर प्रश्न गर्‍यो," उनले थपे, "मैले पनि सहज रूपमा छानबिन समितिलाई नै 'तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त' भनेर प्रतिप्रश्न गरिदिएँ।"

आफू निर्दोष सावित हुनेमा ढुक्क रहेका गुरुङले भविष्यको राजनीतिक यात्राबारे समेत आक्रामक रणनीति सुनाए। समितिबाट सफाइ पाएर सरकारले आफूलाई पुनः गृहमन्त्रीको जिम्मेवारी दिएमा कार्यशैली पूर्ण रूपमा बदल्ने उनको भनाइ छ।

आफ्नो भावी योजनाबारे बोल्दै उनले भने, "यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला।" मन्त्रालयको कामलाई प्रभावकारी बनाउन सुरुवाती समय प्रचारवाजीभन्दा टाढा रहेर काम गर्ने उनले स्पष्ट पारे