हर्क साम्पाङलाई २४ घण्टे पुर्जी: गुड्दो बाइकमा फेसबुक लाइभ गर्दा कानुनको फन्दामा
प्रतिनिधिसभा सदस्य एवम् श्रम संस्कृति पार्टी अध्यक्ष हर्क साम्पाङलाई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा कारबाहीको तयारी गरिएको छ।
एक हातले सवारी साधनको ह्यान्डल र अर्को हातले मोबाइल फोन समातेर भिडियो लाइभ गर्दै लापरबाहीपूर्ण तरिकाले मोटरसाइकल चलाएको भन्दै ट्राफिक प्रहरीले उनलाई कारबाहीको दायरामा ल्याउन लागेको हो।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीका प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार साम्पाङलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढिसकेको छ र छिट्टै २४ घण्टे पुर्जी थमाइने तयारी भइरहेको छ।
साम्पाङले सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण (लाइभ) गर्दै मोटरसाइकल चलाउने क्रममा सन्तुलन गुमाउँदा केही दिनअघि दुर्घटनामा परेर सामान्य घाइते भएका थिए। दुर्घटना कटारीबाट धरानतर्फ आउने क्रममा भएको अनुमान गरिए पनि उनले घाइते भइसकेपछि कोसी नदी क्षेत्रमा पुगेर पुनः भिडियो बनाएर सार्वजनिक गरेका थिए।
सवारी चालक आफैँले लापरबाहीपूर्ण ढंगले भिडियो वा फोटो खिच्दै सवारीसाधन कुदाउनु सवारी तथा यातायात व्यवस्था ऐनको विपरीत भएको प्रहरी उपरीक्षक गिरीले नेपालखबरलाई बताए। उनले भने, ‘यस किसिमको व्यवहारले चालक स्वयंलाई मात्र नभई सडकमा गुड्ने अन्य सवारी साधन र यात्रुलाई समेत ठुलो जोखिम निम्त्याउने भएकाले कारबाही अनिवार्य देखिएको छ।’
दुर्घटनामा ठूलो मानवीय वा भौतिक क्षति नभए पनि लापरबाहीपूर्ण सवारी चलाउनलाई निरुत्साहित गर्न कानुनअनुसार जरिबाना गरिने ट्राफिक कार्यालयले जनाएको छ। ट्राफिक भायोलेसन सिस्टम (टीभीएस) मा चालकको अनुमति पत्र (लाइसेन्स) वा सवारी दर्ता किताब (ब्लूबुक) को नम्बर प्रविष्टि गरेपछि कसुरको सङ्ख्याका आधारमा जरिबाना रकम तय हुनेछ।
पहिलोपटकको गल्ती भए नियमअनुसार ५०० रुपैयाँ, दोस्रो पटक भए १ हजार रुपैयाँ र तेस्रो पटक वा सोभन्दा बढी भए १ हजार ५०० रुपैयाँ जरिबाना सांसद् साम्पाङले बेहोर्नु पर्नेछ। जरिबानाको पुर्जी जारी भएपछि सम्बन्धित व्यक्तिले नेपाल सरकारको राजस्व खातामा बैंक वा डिजिटल वालेट (ईसेवा) मार्फत रकम जम्मा गरेपछि मात्र नियन्त्रणमा लिइएका कागजात फिर्ता पाउनेछन्। यदि उनलाई नभेटिएको अवस्थामा नागरिक एप मार्फत समेत कारबाही गर्ने तयारी ट्राफिक प्रहरीको छ।
संविधान र कानुनको नजरमा सबै नागरिक समान हुने भएकाले सार्वजनिक पदमा रहेका वा कानुन निर्माण गर्ने तहमा पुगेका व्यक्तिहरूले पनि नियमको पूर्ण पालना गर्नुपर्छ। साम्पाङ आफैँले सार्वजनिक गरेको भिडियोले नै नियम उल्लंघनको पुष्टि गरिसकेकाले कारबाहीबाट उम्किने ठाउँ नरहेको र आजभोलिभित्रै उनलाई पुर्जी बुझाउने वा ब्लुबुक, लाइसेन्स नियन्त्रणमा लिने गरी ट्राफिक अधिकारीहरूले सम्पर्क गरिरहेका छन्।
‘रास्वपालाई असफल हुने छुट छैन’
रास्वपाको कलैयामा भएको उपनिर्वाचन खारेजको माग
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी
परराष्ट्रमन्त्री खनालद्वारा दिल्लीमा स्पष्टीकरण: 'प्रधानमन्त्री शाहको आशय बेलायतसँग…
इरान युद्धले तेल बजारमा 'ओपेक प्लस'को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ
धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
प्रतिक्रिया