४० अर्बभन्दा बढी लगानीमा भित्रिँदै ६ मेरियट फ्रेन्चाइज्ड होटल, ४ नयाँ ब्रान्ड थपिने

विश्वकै सबैभन्दा ठूलो होटल तथा आतिथ्य कम्पनीहरूमध्येको मेरियट इन्टरनेशनलले नेपालमा व्यवसाय विस्तारलाई तीव्रता दिएको छ। 

सो क्रममा यस ब्रान्डका चेन होटलको नेपालमा उपस्थिति बढ्न थालेको छ। 

अहिले नै मेरियट इन्टरनेशनलअन्तर्गतका कम्पनीको फ्रेन्चाइजमा मेरियट काठमाडौं, मोक्सी, फेरिफिल्ड, अलफ्ट र सोल्टी होटलमा अटोग्राफ कलेक्सन सञ्चालनमा छन्। 

अब चौधरी ग्रुपको सीजी हस्पिटालिटीले मेरियटकै चर्चित ब्रान्ड द रिट्ज–काल्र्टन भित्र्याउँदै छ भने वेस्टिन होटल तथा रिसोर्टसँग पनि रणनीतिक साझेदारीको तयारी गरेको छ। 

यता अस्ट्रेलियन व्यवसायी शेष घले पनि यो ब्रान्ड नेपाल भित्र्याउने तयारीमा छन् भने मेरियट काठमाडौं बनाएको एमएस ग्रुपअन्तर्गतको एभरेष्ट हस्पिटालिटीले भक्तपुरमा पाँचतारे होटल बनाएर मेरियटकै जेडब्लु मेरियट ब्रान्डमा सञ्चालनमा ल्याउने बताएको छ। 

यसरी केही वर्षभित्रै मेरियटअन्तर्गतकै चारवटा ब्रान्ड थपिने निश्चित भएको छ। 

 

 

नेपालको आतिथ्य उद्योगमा मेरियट ब्रान्डको उपस्थिति बढेपछि मेरियट इन्टरनेसनलका प्रतिनिधि नेपाल आउने भएका छन्। सीजी हस्पिटालिटीसँग मेरियटको रणनीतिक साझेदारीसम्बन्धी कार्यक्रमका लागि नेपाल आउन लागेको जनाइएको छ।

सीजी हस्पिटालिटीले काठमाडौंको ठमेलमा मेरियटअन्तर्गतको चर्चित ब्रान्ड द रिट्ज–काल्र्टन होटल निर्माण गर्न लागेको छ। गत चैत १३ मा चौधरी ग्रुपले उक्त होटलको शिलान्यास गरेर करिब १५ अर्ब रुपैयाँ गर्न लागेको बताएको थियो। 

चौधरी ग्रुपले हस्पिटालिटीमा लगानी बढाउँदै नयाँ होटल शृंखला ‘सीजी बाइ मेरियट’ सञ्चालन गरिरहेको छ। सीजी हस्पिटालिटीले मेरियटकै अर्को कम्पनी ‘वेस्टिन होटल तथा रिसोर्ट’सँग पनि रणनीतिक साझेदारीको तयारी गरेको छ।

मेरियट इन्टरनेशनलको स्थापना सन् १९२७ मा भएको थियो। हाल यसका ९ हजार सात सयभन्दा बढी होटल तथा रिसोर्टहरू १४० भन्दा बढी देशमा सञ्चालनमा छन्।

व्यवसायी शेष घलेले मेरियटकै शेराटन ब्रान्डमा होटल चलाउने तयारी गरेका थिए। तर होटल निर्माणमा निकै समय लागेपछि शेराटनले सम्झौता रद्द गरेको थियो। उनी अहिले पुनः मेरियटकै कुनै ब्रान्ड ल्याएर होटल सञ्चालन गर्ने तयारीमा लागेका हुन्। 

घलेले काठमाडौंको लैनचौरमा करिब १३ अर्ब रुपैयाँ लगानीमा होटल तयार गरेका छन्।

उक्त होटल सञ्चालनको घोषणा चाँडै हुने गरी तयारी भइरहेको व्यवसायी घलेको सचिवालयले नेपालखबरलाई जानकारी दिएको छ।

यता, नेपालमा दुई दशकको अन्तरालमा थपिएको पाँच तारे होटल हो मेरियट काठमाडौं। एमएस ग्रुपअन्तर्गतको एभरेष्ट हस्पिटालिटीले होटल सञ्चालनमा ल्याएको हो। 

एमएस ग्रुपले साढे चार अर्ब लगानीमा पाँच तारे डिलक्स होटल निर्माण गरेर २०७६ साउनबाट औपचारिक रुपमा मेरियट काठमाडौं नाममा सञ्चालनमा ल्याएको थियो। 

काठमाडौंको नागपोखरीमा १३ रोपनी क्षेत्रफलमा निर्माण भएको काठमाडौं मेरियट होटलमा २ सय १५ कोठा छन्। यो होटल १३ तले भवनमा छ । क्यासिनोसहित पाँचतारे मापदण्डमा हुने सबै सुविधा राखेर होटल सञ्चालन भइरहेको छ।

 

 

हस्पिटालिटी क्षेत्रमा एग्रेसिभ लगानी गरिरहेको एमएस समूहको यो दोस्रो प्रोजेक्ट हो। यसअघि यही समूहले ठमेलमा तीनतारे होटल मेरियट फेयरफिल्ड सञ्चालनमा ल्याएको थियो। 

होटलमा अन्तर्राष्ट्रियस्तरका १ सय १५ कोठा छन्। यसमध्ये ७१ वटा डिलक्स किङ बेड रुम छन् भने अन्य ४३ वटा डिलक्स टुइन बेड रूम छन् ।

एमएस ग्रुपले नै झण्डै एक अर्बको लगानीमा होटल निर्माण गरेर मेरियटलाई व्यवस्थापनको जिम्मा दिएको थियो। मेरियट फेयरफिल्ड ३० वर्षका लागि मेरियटले व्यवस्थापनको जिम्मा लिएको छ।

सोही एमएस ग्रुपले मेरियटकै ब्रान्डमा चलाएको अर्को होटल हो मोक्सी।

मेरियट ग्रुपअन्तर्गतको ‘मोक्सी’ ब्रान्डको यो होटल नेपालमै पहिलो पटक भित्रिएको थियो। एमएस ग्रुपका अध्यक्ष एवं उद्योगी तथा होटल व्यवसायी शशिकान्त अग्रवालले मोक्सी ब्रान्ड भित्र्याएका थिए। मोक्सी युरोप र अमेरिका फैलिसकेको होटल ब्रान्ड हो। मोक्सी विश्वका २९ देशमा फैलिएको छ। 

काठमाडौंको कमलादीमा करिब २ अर्बभन्दा बढीको लगानीमा यो होटल निर्माण भएको बताइएको छ। दुई रोपनी जग्गामा बनेको मोक्सीमा १०१ वटा कोठा छन्। अधिकांश कोठा डिलक्स स्ट्यान्डर्डका छन्। स्विमिङ पुल, पुल बार, काठमाडौंको दृश्य देखिने १० औं तला, मेक्सिकन रेस्टुरेन्ट लगायत सुविधा यो होटलमा छन्।

एभरेष्ट हस्पिटालिटीले केही वर्षभित्र ३ सय कोठाको मेरियटको प्रिमियम ब्रान्ड ‘जेडब्ल्यू मेरियट’ सञ्चालनमा ल्याउने घोषणा गरेको छ। 

नेपालकै सबैभन्दा पूरानो पाँच तारे होटल द सोल्टी काठमाडौं पनि अन्तर्राष्ट्रिय होटल सञ्जाल मेरियटको ‘अटोग्राफ कलेक्सन’अन्तर्गत सञ्चालन भइरहेको छ। उक्त होटलले विश्वव्यापी बजारीकरणका लागि मेरियटसँग सहकार्य गरेको बताएको थियो। 

 

 

द सोल्टी काठमाडौंका अनुसार, होटलको सम्पूर्ण व्यवस्थापन र कर्मचारी नेपाली रहेको र अन्तर्राष्ट्रिय बजारमा होटलको प्रचारप्रसार र लोयल्टी प्रोग्रामका लागि मेरियटसँगको सहकार्य गरिएको हो।

वि.सं. २०२३ बाट सञ्चालनमा आएको काठमाडौंको पुरानोमध्येको द सोल्टी काठमाडौंमा कुल २८५ कोठा छन्।

मेरियट इन्टरनेशनलको अर्को फ्रेन्चाइज होटल हो ठमेलको अलफ्ट काठमाडौं ठमेल। 

छायाँ सेन्टरमा सञ्चालनमा रहेको यो होटल व्यापारिक कम्प्लेक्ससहित निर्माण भएको छ। करिब ५ अर्ब रुपैयाँको लगानीमा यो होटल सञ्चालनमा आएको हो।

१५ तलाको सो होटलको रुफटपमा निलगिरी स्काई लाउन्ज सञ्चालन गरिएको छ। 

होटलमा एक सय ६७ कोठा छन्। होटलमा क्यासिनो, बार र रुफ टम रेस्टुरेन्ट लगायतको सुविधा रहेको छ। 

अलफ्ट होटलका ब्रान्ड २६ देशका एक सय ४० भन्दा बढी स्थानमा सञ्चालनमा छन्। अलफ्ट मेरियट इन्टरनेशनलकै एक कम्पनी हो।