रुसमा युक्रेनको भीषण ड्रोन आक्रमण

काठमाडौं । युक्रेनले शनिबार बिहान रुसतर्फ सयौँ ड्रोन प्रहार गरेको छ । आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । सेन्ट पिटर्सबर्गमा आयोजित रुसको प्रमुख आर्थिक मञ्च (इकोनोमिक फोरम)को अन्तिम दिन एक तेल डिपोमा आगलागी भएको अधिकारीहरूले बताएका द गार्जियनले जनाएको छ ।

अधिकांश ड्रोनले सेन्ट पिटर्सबर्ग क्षेत्रलाई निसाना बनाएका थिए । एक साताभन्दा कम अवधिमा उक्त सहरमाथि गरिएको यो दोस्रो युक्रेनी आक्रमण हो । युक्रेनको सुरक्षा सेवाले आक्रमणबाट एक नौसैनिक अड्डामा क्षति पुगेको दाबी गरेको छ ।

यो आक्रमण रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको प्रत्यक्ष वार्ताको प्रस्ताव अस्वीकार गरेको भोलिपल्ट गरिएको हो । पुटिनको उक्त निर्णयको आलोचना गर्दै जेलेन्स्कीले फेरि युद्धको बाटो रोजेको आरोप लगाएका थिए ।

सेन्ट पिटर्सबर्गलाई घेरेको लेनिनग्राद क्षेत्रमा १४० भन्दा बढी ड्रोन खसालिएको त्यहाँका गभर्नर अलेक्जान्डर द्रोज्देन्कोले बताएका छन् । उनले आक्रमणका बेला विरलै गरिने सार्वजनिक आह्वान गर्दै मानिसलाई घरभित्रै बस्न आग्रह गरेका थिए ।

उनले भने, “रुसी वायु रक्षा प्रणालीले कुनै ठूलो क्षति हुन दिएन । घाइते भएका तीनजनाको अवस्था सामान्य छ र उनीहरूलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।”

रुसी रक्षा मन्त्रालयले वायु रक्षा प्रणालीले बेलगोरोड, ब्रियान्स्क, कालुगा, कुस्र्क, लेनिनग्राद, नोभगोरोड, ओर्योल, प्स्कोभ, रोस्तोभ, रियाजान, स्मोलेन्स्क, टभेर र तुला क्षेत्र, क्रिमिया गणतन्त्र, अब्खाजिया गणतन्त्र तथा अजोभ र ब्ल्याक सीमाथि गरी कुल ३७६ ड्रोन नष्ट गरिएको जनाएको छ ।

युक्रेनले सेन्ट पिटर्सबर्गस्थित क्रोनस्टाट नौसैनिक अड्डाका साथै लेनिनग्राद क्षेत्रमा रहेको रुसी नौसेनाको १५औँ हतियार तथा सैन्य सामग्री भण्डारलाई निसाना बनाइएको जनाएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार, आक्रमणका कारण दक्षिणी सहर उस्ट–लाबिन्स्कको एक तेल डिपोमा आगलागी भएको छ । पश्चिमी टभेर क्षेत्रमा ड्रोनको भग्नावशेष खस्दा एक पुरुषको मृत्यु भएको हो ।

जेलेन्स्कीले यो आक्रमणलाई युक्रेनविरुद्धको रुसी आक्रामकताको उचित जवाफ भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “यो युद्ध अन्त्य गर्ने समय हो । तर, रुसका शासकहरू अझै युद्ध जारी राख्न चाहन्छन् । त्यसैले यस आक्रामकताविरुद्ध युक्रेनले चालेका कदमहरू प्रभावकारी भइरहेका छन् । युक्रेनविरुद्ध हुने कुनै पनि अन्यायको उचित जवाफ दिइनेछ ।”

रुसले पनि शनिबार बिहानै युक्रेनमाथि आफ्ना आक्रमण तीव्र बनाएको छ । दक्षिणी माइकोलाइभ क्षेत्रमा एक रुसी ड्रोन आक्रमणमा परी ६४ वर्षीय पुरुषको मृत्यु भएको छ । नजिकैको जापोरिज्जिया क्षेत्रमा गरिएको अर्को आक्रमणमा एक १० वर्षीय बालक र उनका बुवा घाइते भएका जनाइएको छ ।