कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण
धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह र सेतो दह जाने कठिन बाटोमा पदमार्ग निर्माण गरिएको छ ।
भौगोलिक रूपमा विकट र हिँड्न कठिन रहेको गोरेटोमा व्यवस्थित पदमार्ग निर्माण गरिएको हो । कालो र सेतो दह हुँदै नेपाल–चीन सिमाना नजिकको हर्ची पाससम्मको पदमार्ग निर्माण गरिएको स्थानीय पथप्रदर्शक मार्कुस तामाङले जानकारी दिनुभयो ।
रुबीभ्याली गाउँपालिका–१ लिङ्जो गाउँका बासिन्दाले २१ दिनसम्म श्रमदान गरेर बाबिल खर्कदेखि चार हजार ६ सय ५० मिटर उचाइमा रहेको हर्ची पाससम्म गोरेटो पदमार्ग निर्माण गरेका हुन् । स्थानीय आफैले श्रमदान सुरु गरेपछि रुबीभ्याली गाउँपालिका–१ ले रु १५ लाख उपलब्ध गराएको थियो ।
पदमार्ग निर्माणका क्रममा चार हजार मिटर उचाइमा रहेको छार चो खर्कमा बास बसेर दैनिक रूपमा कठिन भू–भागमा काम सम्पन्न गरेको वडाध्यक्ष पम्बर तामाङले जानकारी दिनुभयो । आगामी वर्षको बजेटबाट पर्यटक प्रतिक्षालय र अन्य पूर्वाधार निर्माणमा सहयोग गर्ने उहाँले बताउनुभयो ।
पदमार्ग निर्माणका क्रममा स्थानीय युवाले घन, छिनो र गैंती प्रयोग गरी चट्टान फोरेका थिए भने महिलाले ढुङ्गा बोकेर सिँढी बनाउन सहयोग गरेका थिए । अक्सिजनको कमी हुने उचाइमा समेत स्थानीय खटिएर निर्माण कार्य सम्पन्न गरेको वडाअध्यक्ष तामाङले प्रशंसा गर्नुभयो । सामूहिक श्रमदानबाट बनेको यो पदमार्गले प्रसिद्ध कालो दह, सेतो दह र हर्ची पास पुग्ने पर्यटकलाई सहज बनाएको छ ।
पदमार्ग सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने र स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना हुने स्थानीयले अपेक्षा गरेका छन् । पदमार्गले गाउँको भविष्यको बाटो कोरेको र यसबाट पर्यटन विकासमा ठूलो टेवा पुग्ने भन्दै स्थानीय अगुवा पुर्ने लामा तामाङले खुसी सुनाउनुभयो । राजधानी काठमाडौँबाट सबैभन्दा नजिक पर्ने पाँच हजार मिटरसम्मको यो पदयात्रा क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन पदमार्ग महत्वपूर्ण माध्यम बन्नेछ ।
वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम
‘नयाँ शक्ति’को नाम परिवर्तन गर्नु कमजोरी रह्यो: पूर्वप्रधानमन्त्री भट्टराई
यो देशलाई माया गर्दा दुनियाँ भरका मान्छेले गाली खानुपरेको गुनासो :अध्यक्ष स…
भारतीय सैन्य विमान दुर्घटना : पाइलटसहित ५ जनाको मृत्यु
पशुपति परिसरमा हत्या गरी फरार अभियुक्त महोत्तरीबाट पक्राउ
निकासी आदेश पछि लेवनानमा इजरायली आक्रमण
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
प्रतिक्रिया