सातामै साढे १८ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएपछि नेपाली सुन बजारमा उल्लेख्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजेट भाषणयता छापावाल सुनको मूल्य एक सातामै प्रतितोला १८ हजार ४०० रुपैयाँले बढेको छ।

सरकारले बजेट सार्वजनिक गरेको दिन छापावाल सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। तर, त्यसको भोलिपल्ट अर्थात् जेठ १७ गते आइतबार सुनको मूल्य एकै दिन २० हजार ५०० रुपैयाँले बढेर प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको थियो।

जेठ १८ गते सोमबार सुनको मूल्य सामान्य रूपमा २०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १० हजार ९०० रुपैयाँमा झरेको थियो। त्यसपछि जेठ १९ गते मंगलबार पुनः ४०० रुपैयाँले वृद्धि हुँदै प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँ पुगेको थियो।

जेठ २० गते बुधबार सुनको मूल्य स्थिर रह्यो भने जेठ २१ गते बिहीबार २०० रुपैयाँले घटेर प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको थियो। त्यसैगरी, जेठ २२ गते शुक्रबार सुनको मूल्य २ हजार १०० रुपैयाँले घटेर प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

यद्यपि साताभरको समग्र मूल्यांकन गर्दा बजेट सार्वजनिक भएयता सुनको मूल्य प्रतितोला १८ हजार ४०० रुपैयाँले बढेको देखिएको छ ।