भारतले रविलाई प्रधानमन्त्रीकै स्तरमा दियो सम्मान
काठमाडौं । भारत भ्रमणमा रहेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरे ।
भेटवार्तामा भारतीय प्रधानमन्त्रीसँगै थिए– भारतीय विदेशमन्त्री एस जयशंकर, भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतीय विदेश सचिव विक्रम मिश्री लगायत । प्रायः यस्तो दृश्य दुई देशका प्रधानमन्त्रीबीचको भेटवार्तामा देखिन्छ ।
रास्वपा सभापति लामिछाने ‘भाजपालाई जानौं’ अभियान अन्तर्गत भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नविनको निमन्त्रणामा नयाँ दिल्ली पुगेका थिए । तर एउटा पार्टीको सभापतिलाई भारतले प्रधानमन्त्रीलाई नै दिने स्तरको सम्मान दिएको थियो ।
एउटा देशको पार्टी सभापतिलाई भेट दिँदा आफ्ना विदेशमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार र विदेश सचिवलाई सँगै राखिँदैन । अझ अघिल्लो दिन नै लामिछाने र जयशंकरबीच भेटवार्ता भइसकेको अवस्थामा भोलिपल्ट प्रधानमन्त्रीसँगको भेटमा उपस्थित हुन जरुरी नभएको विज्ञको टिप्पणी छ ।
तर बुधबार रास्वपा सभापति लामिछाने आफूसँग भेट गर्न आउँदा भारतीय प्रधानमन्त्री मोदीले सबैलाई सँगै राखेका थिए, कूटनीतिमा यस्तो किन गरिन्छ र अर्थ के हुन्छ ?
“भारतले रास्वपा सभापतिलाई एउटा प्रधानमन्त्री जाँदा दिनेजस्तै मान सम्मान दिएको देखिन्छ । यसरी उच्च सम्मान दिनु र पाउनु राम्रो हो । तर यो कति दिगो हुन्छ भन्ने अर्को पाटो हो,” पूर्वराजदूत दिनेश भट्टराईले बाह्रखरीसँग भने, “यसरी सम्मान दिनुको अर्थ भारतले लामिछानेलाई नेपालको सत्तारुढ दल रास्वपाको सभापतिका रुपमा मात्र हेरेन । उसले नेपाली मतदातालाई समेत हेर्यो । त्यसैले यो सम्मान नेपाली जनता, मतदाता र नेपाललाई दिएको हो भन्ने बुझ्नुपर्ने हुन्छ ।”
रास्वपा सभापति रवि र मोदी भेटवार्ता गर्द दुवैको पछाडि आ–आफ्नै देशको राष्ट्रिय झन्डा राखिएको थियो । दुई देशका प्रधानमन्त्री आपसमा भेटवार्ता गर्दाझैँ लामिछानेको पछाडि नेपालको झन्डा राखिएको थियो ।
नेपालको राष्ट्रिय झन्डा राखेर लामिछानेलाई कुनै एउटा पार्टीको नेताको रुपमा मात्र नहेरी नेपालको प्रभावशाली नेताको रुपमा आफूहरुले हेरिरहेको सन्देश भारतले दिन खोजेको पूर्वराजदूत भट्टराईको बुझाइ छ ।
“जुन सम्मान लामिछानेले पाएका छन् यसले भारत भविष्यमा के चाहन्छ भन्ने पनि दर्शाउँछ,” सुशील कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा दुवैका विदेश मामिला सल्लाहकार समेत रहेका भट्टराईले भने ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग असन्तुष्ट रहेका कारण पनि भारतले लामिछानेलाई बढी सम्मान देखाएको हुनसक्ने आकलन उनको छ ।
केही साताअघि नेपाल आउन लागेका भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री बालेनले भेटको लागि समय नदिएपछि भ्रमण स्थगित गरेका थिए ।
भारत प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारत नै होस् भन्ने चाहन्छ, तर यसमा बालेनले भारतले चाहेजस्तो रुची देखाएका छैनन् ।
यावत कारणले भारत प्रधानमन्त्री बालेन्द्र शाहसँग असन्तुष्ट बनेको छ । यसैकारण भारतले आफू प्रोटकल बाहिर गएर पनि भेटवार्तालाई महत्व दिने सन्देश लामिछानेमार्फत बालेनलाई दिन खोजेको छ ।
“बालेनसँग असन्तुष्ट भएर पनि लामिछानेलाई बढी महत्व दिएको हुनसक्छ,” पूर्वराजदूत भट्टराईले भने ।
भारतले सम्मान दिएकै कारण हौसिन भने नहुने धारणा पूर्वराजदूत भट्टराईको छ । आफ्नो तर्कलाई बल पुग्ने उनले केही उदाहरण पनि दिए ।
पूर्वराजदूत भट्टराईका अनुसार सन् २००६ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा उनलाई स्वागत गर्न भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंह नै विमानस्थलमा उपस्थित भएका थिए ।
विमानस्थलमा कोइरालालाई स्वागत गर्दै सिंहले भनेका थिए, “तपाईँ दक्षिण एसियाको महान नेता हुनुहुन्छ ।” सो भ्रमणका बेला कोइरालालाई उच्च सम्मान दिएको थियो ।
त्यसको केही समयपछि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को शिखर सम्मेलनमा सहभागी हुन कोइराला श्रीलंका गएका थिए । श्रीलंकाबाट फर्किदा कोइरालाले दुई दिन नयाँ दिल्लीमा बिताए ।
नयाँ दिल्लीमा अडिनुको कारण भारतीय नेताहरुसँग भेटवार्ता गर्नु थियो ।
नेपाली कांग्रसेको सभापतिको रुपमा सुशील कोइरालाले पनि भारत भ्रमण गरेका थिए । भारत सरकारको निमन्त्रणमा उनी भारत जाँदा उच्च सम्मान पाएका थिए । पछि सुशील कोइराला नेपालको प्रधानमन्त्री भए । लिपुलेकका विषयमा उनले भारतसँग आपत्ति जनाए । संविधान जारी गर्ने विषयमा भारतको सुझाव उनले अस्विकार गरे ।
त्यसपछि भारतले २०१५ जुनमा तय भएको उनको भ्रमण स्थगित गरिदियो । यो भ्रमणको औपचारिक घोषणा भने गरेको थिएन । तर भारत भ्रमण गर्दा प्रधानमन्त्रीरुपमा सुशील कोइरालाले दिने ‘स्पिच’ सबै तयार गरिसकिएको थियो ।
भारतले कांग्रेस नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि यस्तै व्यवहार गरेको थियो । विदेशमन्त्रीको रुपमा आरजुले भारत भ्रमण गर्दा उनलाई उच्च सम्मान दिइएको थियो । त्यो सम्मान देखेर कतिपयले आरजुलाई ‘भावी प्रधानमन्त्री’ भन्न समेत भ्याएका थिए । तर पछि तिनै आरजुले भारत भ्रमण गर्दा भारतीय नेताहरुसँग भेटवार्ता गर्ने समय नै पाइनन् ।
“भारतले कति बेला कसलाई उठाउने र कसलाई खसाल्ने भन्ने राम्रो जानेको र बुझेको छ,” पूर्वराजदूत भट्टराईले भने ।
अहिले भारतले रास्वपा सभापति लामिछानेलाई उच्च सम्मान दिनुको अर्को कारण भनेको ‘साथीको खोजी’ पनि हो । पूर्वराजदूत भट्टराई भन्छन्, “अहिले भारतलाई साथी चाहिएको छ । नेपालमा विश्वासीले साथी । पुराना दल छायामा परेका छन् र उनीहरु विश्वासिलो बन्न सकेका छैनन् । त्यसैले रास्वपा बन्न सक्छ कि भनेर भारतले परिक्षण गर्न चाहेको छ ।”
रवि र मोदीबीच के कुराकानी भयो ?
बुधबार दिउँसो भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत रविसँग भेट्न पाउँदा अत्यन्तै खुसी लागेको बताएका थिए ।
एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई आफूले स्वागत गर्ने र त्यसमा पूर्ण रुपमा सहमत रहेको उनले जनाएका थिए ।
“हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ,” भारतीय प्रधानमन्त्री मोदीले भनेका थिए ।
भेटपछि रास्वपा सभापति लामिछानेले नेपाल र भारतले विगतका बाधाहरू पार गर्दै विकास कूटनीतिको नयाँ युगलाई अँगाल्ने जनाएका छन् । उनले प्रधानमन्त्री मोदीसँग एकघण्टा लामो भेटवार्ता गर्न पाउनु ठूलो खुसीको कुरा भएको जनाउँदै भेटवार्ता फलदायी भएको बताएका छन् ।
“म भविष्यको लागि तपाईंको दृष्टिकोणसँग सहमत छु जहाँ नेपाल र भारतले विगतका बाधाहरू पार गर्दै विकास कूटनीतिको नयाँ युगलाई अँगाल्नेछन्,” भेटवार्तापछि सभापति लामिछानेले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
साझा सभ्यता सम्बन्ध, डिजिटल कोरिडोर र निर्बाध कनेक्टिभिटीमा ध्यान केन्द्रित गरेर नेपाल र भारतले साँच्चै प्रगति तथा पारस्परिक विश्वासद्वारा साझेदारी निर्माण गर्न सक्ने उनले बताएका छन् ।
“नेपाल र भारतका जनताको लागि, हाम्रो साझा समृद्धिको लागि यी सम्भावनाहरूलाई वास्तविकतामा रूपान्तरण गर्न रास्वपा उत्सुक छ,” सभापति लामिछानेले भनेका छन् ।
विदेश र गृहमन्त्रीसँगको भेट
भारतको पाँचदिने भ्रमणमा रहेका रास्वपा सभापति लामिछानेले मंगलबार भारतका विदेशमन्त्री एस जयशंकर र गृहमन्त्री अमित शाहसँग छुट्टाछ्ट्टै भेटवार्ता गरेका थिए ।
भेटवार्ता पछि भारतीय विदेशमन्त्री जयशंकरले लामिछाने र उनको प्रतिनिधिमण्डललाई भेट्न पाउँदा खुसी व्यक्त गरेका थिए ।
भेटवार्तापछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समा लेखेका थिए, “हाम्रो छलफल भारत–नेपाल विकास साझेदारी र जनता–जनता सम्बन्धमा केन्द्रित थियो । विकास र समृद्धिलाई प्रवद्र्धन गर्न यिनीहरूको महत्त्वपूर्ण भूमिका छ ।”
भारतका गृहमन्त्री शाहसँगको भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरुबीचको संवाद र सहकार्यका विषयमा छलफल भएको थियो ।
भाजपा मुख्यालयमा भव्य स्वागत
रास्वपा सभापति लामिछाने मंगलबार नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा)को मुख्यालय पुगेका थिए ।
रवि भाजपाको मुख्यालय पुग्दाको दृश्य गजबको दियो । बाजागाजा र सांस्कृति नृत्यसहित उनको स्वागत गरिएको थियो । त्यति मात्र होइन उनी भाजपाको मुख्यालय प्रवेश गर्न गाडीबाट झरेपछि पुष्पवर्षा गरिएको थियो । भाजपाले रविलाई रातो कार्पेट बिछ्याएको थियो ।
त्यसो त भाजपाको मुख्यालय पुग्ने रवि पहिलो नेपाली नेता वा पार्टी सभापति भने होइनन् । तत्कालिन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा हालको नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७९ साउन १ गते भाजपा मुख्यालयमा पुगेका थिए ।
भाजपाका तत्कालीन अध्यक्ष जगत प्रसाद (जेपी) नड्डाको निमन्त्रणमा उनी नयाँ दिल्ली पुगेका थिए । ‘भाजपालाई जानौं’ भन्ने अभियान अन्तर्गत भाजपा मुख्यालय पुगेका प्रचण्डलाई नड्डाले त्यहाँ स्वागत गरेका थिए । प्रचण्ड र नड्डाबीचको भेटमा विदेशमन्त्री एस जयशंकर पनि सहभागी थिए ।
प्रचण्डअघि २०७८ चैत १८ गते नेपाली कांग्रेसका तत्कालिन सभापति शेरबहादुर देउवा पनि भाजपाको मुख्यालय पुगेका थिए । तर देउवा प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्ने क्रममा भाजपा मुख्यालय पुगेका थिए । ‘प्रोटोकल विपरीत’ भाजपा मुख्यालय पुगेको भन्दै त्यतिबेला देउवाको आलोचना भएको थियो । पार्टी कार्यालयमा देउवालाई भाजपाका तत्कालीन अध्यक्ष नड्डाले स्वागत गरेका थिए ।
प्रचण्ड अध्यक्षको रुपमा भाजपा मुख्यालय पुग्दा होस् या देउवा प्रधानमन्त्रीको रुपमा अहिले रास्वपा सभापति रविले जुन स्वागत पाएका छन् त्यस्तो स्वागतको अनुभव उनीहरुले गर्न पाएका थिएनन् ।
रविलाई मुख्यालयमा स्वागत गर्दै भाजपा अध्यक्ष नवीनले भारत र नेपालबीचको घनिष्ठ र ऐतिहासिक सम्बन्धका बारेमा आफ्नो धारणा राखेका थिए । भेटवार्तामा भाजापा अध्यक्षले नेपाल र भारतबीचको सम्बन्ध साझा सभ्यता, सांस्कृतिक बन्धन र जनता–जनताबीचको बलियो सम्बन्धमा आधारित रहेको जनाएका थिए ।
“यस्ता अन्तरक्रियाले भाजपा र रास्वपाबीच लोकतान्त्रिक संवादलाई सुदृढ पार्न र पार्टी–पार्टी सम्बन्धलाई मजबुत बनाउन मद्दत गर्दछ,” भेटवार्तामा भाजपा अध्यक्ष नवीनले भनेको थिए ।
भेटवार्तामा अध्यक्ष नवीनले भाजपाको यात्रा, विचारधारा, संगठनात्मक संरचना र राजनीतिक संलग्नताको लागि यसको जनता–केन्द्रित दृष्टिकोणको बारे रविलाई जानकारी गराएका थिए । भाजपा अध्यक्षले भेटमा भाजपाको तल्लो तहदेखि राष्ट्रियस्तरसम्म संगठनात्मक संरचनाबारे पनि जानकारी दिएका थिए ।
भेटमा रास्वपा सभापति रविले भाजपाको सदस्यता प्रक्रिया, उम्मेदवार छनोट प्रणाली र तल्लो तहका कार्यकर्ताहरूलाई पहिचान र सम्पर्क गर्न पार्टीको संयन्त्रको बारेमा जान्ने जिज्ञासा राखेका थिए । त्यसपछि भाजपा अध्यक्ष नवीनले लोकतान्त्रिक प्रक्रियामा आम नागरिकहरूको सहभागिता मार्फत भाजपाको संगठनात्मक शक्ति कसरी निर्माण हुन्छ भनेर व्याख्या गरेका थिए ।
भेटमा अध्यक्ष नवीनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा अघि बढिरहेको विकास–उन्मुख शासन मोडेलबारे पनि प्रकाश पारेका थिए । विकास, सेवा, सुशासन र कल्याणकारी वितरण भाजपाको जनसम्पर्क र शासन दृष्टिकोणको केन्द्रबिन्दु रहेको नवीनको भनाई थियो ।
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी
प्रतिक्रिया