भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
राष्ट्रिय बाल अधिकार परिषद्ले भक्तपुरको एक बाल गृहबाट आठ जना बालबालिकाको उद्धार गरेको छ ।
भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ८, सिपाडोलमा सञ्चालित ‘मुस्कान सेवा नेपाल’ नामक बाल गृहबाट २ बालक र ६ बालिका गरी जम्मा ८ जना बालबालिकालाई उद्धार गरिएको हो ।
परिषद्का अनुसार उक्त बाल गृहले 'बाल गृह सञ्चालन सम्बन्धी मापदण्ड'को पूर्ण पालना नगरेको र त्यहाँ आश्रित बालबालिकाहरू जोखिममा पर्न सक्ने सम्भावना देखिएकाले जेठ २८ गते उनीहरूको उद्धार गरिएको हो । सूर्यविनायक नगरपालिका र बालबालिका खोजतलास समन्वय केन्द्रको प्रत्यक्ष समन्वय र सहयोगमा बालबालिकाहरूलाई उद्धार गरी सुरक्षित स्थानमा पुनःस्थापना गरिएको परिषद्ले जनाएको छ ।
बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दद्वारा जारी विज्ञप्तिमा बालबालिका सम्बन्धी ऐन, २०७५ र सम्बन्धित नियमावली एवं मापदण्डहरू पालना नगरी बाल गृह सञ्चालन गर्नु कानुन विपरीत रहेको उल्लेख गरिएको छ । ऐनको दफा ६६ को उपदफा (२) बमोजिम कानुन विपरीत बाल गृहमा बालबालिका राख्ने कार्यलाई हिंसा मानिने र यस्तो कार्य गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद हुन सक्ने कानुनी प्रावधान छ ।
परिषद्ले अनुमति नलिई वा तोकिएको मापदण्ड पुरा नगरी बाल गृह सञ्चालन नगर्न र गरिएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने चेतावनी दिएको छ । साथै, कतै मापदण्ड विपरीत बाल गृह सञ्चालन भएको पाइएमा तुरुन्त नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय वा राष्ट्रिय बाल अधिकार परिषद्मा जानकारी गराउन सर्वसाधारणलाई अपिल समेत गरिएको छ ।
स्थानीय बाल अधिकार समिति र बाल कल्याण अधिकारीहरूलाई पनि आआफ्नो क्षेत्रमा रहेका बाल गृहहरूको नियमित अनुगमन र निरीक्षण गरी प्रतिवेदन पेश गर्न परिषद्ले आग्रह गरेको छ ।

हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी
हिरासतमा रहेकी प्रतीक्षा नेपाली ब्रो' की प्रेमिका भएको खुल्यो
प्रतिक्रिया