धरानमा युवकको हत्या गरी फरार आरोपित मोरङमा समातिए

सुनसरीको धरानमा एक युवकको छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले धरान-१९ का २८ वर्षीय 'जिमी' भन्ने अर्जुन बि.क.लाई पक्राउ गरेको छ । 

वैशाख २७ गते दिउँसो धरान उप-महानगरपालिका-१० का २७ वर्षीय जीवन भुजेलसँगको आपसी विवादका क्रममा बि.क.ले उनीमाथि छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका भुजेललाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङहोम लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भयो । घटनालगत्तै फरार रहेका बि.क.लाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले मोरङको बेलबारी नगरपालिका-११ मा लुकिछिपी बसेको अवस्थामा फेला पारेको हो ।

पक्राउ परेका बि.क.लाई हाल इलाका प्रहरी कार्यालय धरानमा राखेर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।