कोशीमा आमसञ्चार विधेयक सर्वसम्मतिले पारित
कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले सो विधेयक पारित गरियोस् भनी गरेको प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।
यस अघि न्याय प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नालले ‘कोशी प्रदेश आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’सम्बन्धी समितिको प्रतिवेदन सभामा पेस गरेका थिए ।
समितिको प्रतिवेदनसहितको विधेयकमाथि प्रदेशसभा नियमावली २०७४ को नियम १०७ को उपनियम (२) को खण्ड (क) बमोजिम छलफल गरियोस् भनी मन्त्री पराजुलीले गरेको प्रस्तावमा कुनै पनि सांसदले छलफलमा सहभागिता जनाएनन् ।
विशेष समय
विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलको तर्फबाट रेवतीरमण भण्डारीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्ने बजेटको मिहीन ढङ्गले छलफल गर्नुपर्ने धारणा राखे ।
उनले कोशी प्रदेशमा ३६ वटा हिमताल जोखिमयुक्त रहेकाले यसका निम्ति सरकारले योजनाबद्धरुपमा पूर्वतयारी गर्नुपर्ने बताए । नदी तटीय क्षेत्रमा बसोबास गर्ने मानिसको जीवन प्रभावित हुन नदिन सरकार गम्भीर बन्नुपर्ने सुझाव उनले दिए । उनले सरकारले सञ्चालन गरेको योजनाहरु अधुरा हुन दिनतर्फ सरकारको ध्यानाकर्षण गराए ।
नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलको तर्फबाट गोपाल तामाङले राष्ट्रिय आवास कम्पनीको नाममा पूर्वीनेपालको काँकरभिट्टामा रहेका बस्ती विकास कम्पनीले मनोमानी गरिरहेकाले खारेजको माग गरे ।
जनता समाजवादी पार्टी कोशी प्रदेशसभा संसदीय दलका नेता निर्मला लिम्बूले विकासको नाममा धार्मिक क्षेत्रको अतिक्रमण रोक्न सरकारको ध्यानाकर्षण गराए । सभाको शून्य समय र विशेष समयमा कोशी प्रदेशसभाका सदस्यहरुले उठाएका पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित प्रश्न तथा जिज्ञासाको जवाफ सो मन्त्रालयका मन्त्री भीम पराजुलीले दिएका थिए ।
शून्य समयमा कोशी प्रदेशसभा सदस्यहरु सपना दर्जी, गयानन्द मण्डल, सिर्जना राई, रामदेव यादव र कमला थापामगरले विविध पक्षमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
बैठकमा कोशी प्रदेश प्रमुख कार्यालय विराटनगरबाट कोशी प्रदेशसभाको आठौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने पत्र सभामुख विष्टले पढेर सुनाएका थिए ।
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी
प्रतिक्रिया