धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर
काठमाडौँ, १० असार : धरान उपमहानगरपालिका–२० स्थित विष्णुपादुका मन्दिर धार्मिक आस्थाको केन्द्रको रुपमा प्रसिद्ध छ । प्राकृतिक रुपले विष्णुपादुका सुनसरी जिल्लाकै एक सुन्दर स्थानसमेत हो । मोक्ष प्राप्त गर्न नसकेका आफ्ना पितृलाई तर्पण गरी भगवान विष्णुले पहिलो श्राद्ध गरेको स्थानको रूपमा यस मन्दिरलाई चिनिन्छ । यहीँबाट श्राद्ध परम्पराको थालनी भएको भक्तजनहरुको विश्वास छ ।
झापाबाट श्राद्ध गर्न पहिलो पटक आउनुभएका मिलन तिम्सिना विष्णुपादुका मन्दिरमा श्राद्ध गर्दा मोक्ष प्राप्ति हुने जनविश्वास रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बुबाआमाको नाममा श्राद्ध गर्न बराहक्षेत्र र पिण्डेश्वरमा पूजा गरेर यहाँ आएको हुँ । यहाँ आइपुग्न अरु ठाउँ जस्तो सजिलो छैन, बाटो र सवारी साधनको राम्रो सुविधा नभए पनि यहाँ श्राद्ध गर्दा पितृको दिवंगत आत्माले मोक्ष प्राप्त हुने विश्वास छ ।”
मोरङको रङ्गेलीबाट बुबाको श्राद्ध गर्न आउनुभएका सुमन विष्टले विष्णुपादुका मन्दिरमा श्राद्ध गर्दा बुबाको दिवंगत आत्माले शान्ति पाउने जनविश्वास रहेको बताउनुभयो । विष्णुपादुका मन्दिरमा पितृको सम्झनामा श्राद्ध गर्न नेपालका मात्र नभएर भारतका विभिन्न ठाउँबाट भक्तजन आउने विष्णुपादुका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजकुमार निरौलाले बताउनुभयो । प्रत्येक वर्षको पौष शुक्ल औंशीका दिन आफ्ना पितृलाई पिण्ड तर्पण गर्न लाखौँको सङ्ख्यामा भक्तजन यहाँ आउने गर्दछन् ।
धरानको मुख्य बजारबाट १२ किलोमिटरमाथि रहेको विष्णुपादुका मन्दिरमा दैनिक एक सय ५० देखि दुई सयसम्म भक्तजन आउने धरान विष्णुपादुका–२० का वडाध्यक्ष पदम लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो, “यो धार्मिक पर्यटकीय मन्दिर भएकाले यसकोे संरक्षण र प्रचारप्रसारको आवश्यता छ ।”
विसं १९७० मा लक्ष्मण घिसिङले मन्दिर भएको स्थलमा उत्खनन गर्दा पाउको छापसहितको ढुङ्गा फेला पारेपछि विष्णुको पाउ भएको विश्वास गर्दै पूजा गर्न थालिएको किंवदन्ती छ । यस मन्दिरमा पूजारी तामाङ रहे पनि पितृश्राद्धको विधि चाहीँ ब्राह्मण पुजारीले गर्छन् । उक्त मन्दिरमा पुस्तौँदेखि मुख्य पुजारीको रुपमा तामाङ जाति रहने गरेका छन् ।
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी
प्रतिक्रिया