शीतलनिवासमा बसेर कसको सेवा गर्दै छन् चिरञ्जीवी नेपाल ?

कुनै पनि राष्ट्रवादी नागरिक घरेलु मामिलामा आलोचना समालोचना गर्छ । बाह्य मामिलामा आफ्नो देशको पक्षमा बोल्छ । आफ्नो देशको छवि उजिल्याउन लागिपर्छ । आफ्नो देशको दाबीलाई बलियो बनाउन आफ्नो क्षेत्रबाट योगदान गर्छ । 

तर नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको काखमा बसेर पूर्वगभर्नर चिरञ्जीवी नेपाल भने आफ्नै देशविरुद्ध बोल्दै हिँडेका छन् । सरकारले एक सय रुपैयाँको नोटमा भएको पुरानो नक्साको सट्टा अब छापिने नयाँ नोटमा नक्सा पनि संविधानमा भएबमोजिमको राख्ने निर्णय गरेपछि नेपाल देशविरुद्ध बोल्दै हिँड्न थालेका हुन् । 

उनले विभिन्न मिडियामा  सरकारको निर्णयलाई अपरिपक्व र लहडी मात्र भनेका छैनन् कि लिपुलेक लिम्पियाधुरामा नेपाली पक्षले राखिरहेको अडानलाई नै कमजोर बनाउने गरी भारतीय पक्षपोषण गरिरहेका छन् ।  

उनको यस अभिव्यक्तिले एकातिर देशको दाबीलाई कमजोर तुल्याउने जोखिम बढाएको छ भने अर्कोतिर आमनागरिकमा पनि भ्रम पैदा गरिदिएको छ । अझ राष्ट्रपतिजस्तो संस्थालाई विवादमा तान्ने काम समेत उनले गरेका छन् ।

नेपालको यो अभिव्यक्ति कुनै पनि कोणबाट मर्यादाअनुकूल छैन । एक त सरकारको कुनै पनि निर्णयमा सार्वजनिक राय वा प्रतिक्रिया दिने अधिकार उनीसँग छैन । शीतलनिवासमा बसेर सिंहदरबारको विरोध गर्ने छूट त झनै छैन र हुँदैन पनि । नेपालको यस रवैयाले देशका सरकार प्रमुख र राष्ट्रप्रमुखबीच अनावश्यक द्वन्द्व र आशंका बढाउन पनि सक्छ ।

शीतलनिवासबाट आधिकारिक रुपमा खण्डन नआएसम्म नेपालको यो अभिव्यक्ति शीतलनिवासकै हो भनेर बुझ्नुपर्ने हुन्छ । राष्ट्रपतिले नै उनलाई विभिन्न मिडियामा बोल्न पठाएका हुन् भनेर अर्थ लगाउनुपर्ने हुन्छ ।  होइन भने राष्ट्रपति पौडेलले उनलाई तत्काल बर्खास्त गर्न सक्नुपर्छ । 

बर्खास्त गरिसकेपछि पनि नेपालले आफ्नो अभिव्यक्ति सच्याउनुपर्छ । होइन भने उनलाई देशद्रोही करार गर्नुपर्छ ।