मानव बेचबिखनमा संलग्न तीन जना सम्पत्ति शुद्धिकरणमा दोषी ठहर

काठमाडौं ६ जेठ।  मानव बेचबिखनमा संलग्न तीन जना सम्पत्ति शुद्धिकरणमा पनि दोषी ठहर भएका छन् । आइतबार विशेष अदालतले गत वर्ष साउनमा दायर मुद्दामा कसूर कायम गर्दै सजाय निर्धारणका लागि पेसी तोकेको हो । 

विशेषले अप्सार भन्ने एलिना खत्री, अजित साह र मिलन भन्ने मानबहादुर तामाङलाई दोषी ठहर गरेको हो । विशेषले यस मुद्दामा २० जेठमा सजाय निर्धारण पेसी तोकेको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य रामबहादुर थापाको इजलासबाट यस्तो फैसला भएको हो । 

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले १६ साउन ०८० मा तीन जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेकोमा ठहरको फैसला भएको हो । जिल्ला अदालत काठमाडौं र झापामा दर्ता वादी नेपाल सरकार भएको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पनि खत्री, साह र तामाङ प्रतिवादी थिए । 

उनीहरुमाथि सम्पत्ति शुद्धिकरण कसूरमा पनि अनुसन्धान हुन जरुरी रहेको भन्दै इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट विभागमा पत्र आएको थियो । जसपछि जाँचबुझ र अनुसन्धान गरी मानव बेचबिखन गरी सम्पत्ति आर्जन गरेको देखिएपछि विभागले विशेषमा मुद्दा दर्ता गराएको थियो । 

खत्री र साह पतिपत्नी हुन् । उनीहरुले तामाङलाई प्रयोग गरेर नेपाली युवतीहरु भारतको आसामस्थित कोठीमा पु¥याउने गरेका थिए । यस कसूरमा दोषी देखिने प्रमाण भेटिएको भन्दै उनीहरुले आर्जन गरेको सम्पत्ति अवैध रहेको ठहर विशेषले गरेको हो । 

उनीहरुको खातामा फेला परेको रकमको वैध स्रोत उनीहरुले खुलाउन सकेका थिएनन् । ‘..अवैध रुपमा सम्पत्ति आर्जित गरेको भन्ने एलिना खत्रीको बैंक मौज्दात रकम, निजले मानव बेचबिखन कार्यमा संलग्न प्रतिवादी मानबहादुर तामाङलाई कमिसन दिएको रकमसमेत’ लाई आधार मानेर बिगो निर्धारण भएको छ । विशेषले २८ लाख ५७ हजार रुपैयाँभन्दा बढी रकम बिगो कायम गरेको हो ।