बलराका जनस्वास्थ्य निरीक्षक मिश्रसमेत तीन जनालाई सफाइ

 काठमाडौं ६ जेठ : विशेष अदालतले सर्लाहीको बलराका जनस्वास्थ्य निर्देशक कौशलेन्द्र मिश्रले गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा सफाइ पाएका छन् । यसै मुद्दाका अन्य दुई प्रतिवादीलाई पनि विशेष अदालतले सफाइ दिएको छ । 

विशेषले मिश्रलाई सफाइ दिनुका साथै उनकी एकाघरकी दुई श्रीमती सरोज कुमारी र तुलसीकुमारी मिश्र शर्माको नाममा रहेको सम्पत्ति जफत गर्न अस्वीकार गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ असार ०८० मा मुद्दा दायर गरेको थियो । 

मिश्र ०५७ मंसिरदेखि सार्वजनिक सेवामा प्रवेश गरेका हुन् । उनी पछिल्लो पटक जनस्वास्थ्य निरीक्षक (अधिकृत तह सातौँ) मा कार्यरत थिए । उनको कात्तिक ०७८ सम्मको सम्पत्ति छानबिन भएको थियो । 

उनको तलब–भत्ता, कर्जा, घरजग्गा विक्रिवापत आएको आय, अंशबण्डाबाट प्राप्त रकम, व्यवसायको आय, छोरीको पारिश्रमिक, कृषि आय, घरबहाल आय, बिमा रकमजस्ता आयमाथि छानबिन भएको थियो । यस क्रममा उनको आय एक करोड १३ लाख रुपैयाँ हुनुपर्नेमा दुई करोड ४३ लाखभन्दा बढी रकम व्यय तथा सम्पत्ति आर्जन गरेको अनुसन्धानले देखाएपछि मुद्दा दायर भएको हो । 

मिश्रमाथि एक करोड ३० लाख रुपैयाँभन्दा बढी बिगो कायम गर्दै अख्तियारले मुद्दा चलाएको थियो । यसरी आर्जित सम्पत्ति र सोबाट बढेबढाएको सम्पत्ति श्रीमतीहरुका नाममा राखेको दाबी अख्तियारको थियो ।