ठमेलमा रियल थेरापी, कलाकार भन्छन्- शारीरिक र मानसिक तनाव कम उपयुक्त थलो

काठमाडौँ, ३ जेठः व्यस्त दैनिकी र अव्यवस्थित जीवनशैलीले विशेषगरी सहरी जीवन अस्तव्यस्त बनिरहेको छ । काम विषेशले मानिसले शरीरको ख्याल गर्नसमेत नभ्याउने अवस्था छ । यसैबीच शारीरिक र मानसिक तनाव कम गराउने उद्देश्यले मुलुकको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा रु आठ करोड लागतमा रियल थेरापी तथा ब्यूटी प्वाइन्ट सञ्चालनमा आएको छ । 

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समेत रहनुभएका पर्यटन व्यवसायी भविश्वर शर्माले अत्याधुनिक सुविधा सम्पन्न रियल थेरापी सञ्चालनमा ल्याउनुभएको छ । ठमेलमा विगत २२ वर्षदेखि रियल थेरापी सञ्चालन गर्नुभएका शर्माले आधुनिक संरचनासहित थप सुविधासहित रियल थेरापी सुरु गर्नुभएको हो ।

चारतले सुविधायुक्त भवनमा सञ्चालित रियल थेरापीको आज एक कार्यक्रमकाबीच कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, मनोज गजुरेल, स्वस्तिमा खड्का, निर्मल शर्मा र काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

 अत्याधुनिक संरचनासहित पारिवारिक वातावरणमा सञ्चालन भएको रियल थेरापी स्वास्थ्य पर्यटनको महत्वपूर्ण आधार भएको कलाकारहरुले बताउनुभयो । व्यस्त जीवनशैलीका मानिसलाई शारीरिक आनन्द र तनावमुक्त बनाउन रियल थेरापी सान्दर्भिक हुने उनीहरुको बुझाइ छ ।

 कलाकार दीपाश्री निरौलाले रियल थेरापी तनाव विसर्जन गर्ने उपयुक्त ठाउँ भएको उल्लेख गर्नुभयो । “रियल थेरापी तनाव विसर्जन गर्ने ठाउँ हो, यहाँ महिला, पुरुष र जोडी तथा परिवारका सदस्यका लागि छुट्टै व्यवस्था भएकाले यसको महत्व र सान्दर्भिकता बढेको छ”, उहाँले भन्नुभयो ।

“आजकाल स्वास्थ्यप्रतिको सचेतनालाई ख्याल गर्दैनन् शारीरिक थकान र तनाव कम गर्न रियल थेरापीजस्ता गन्तव्य उपयुक्त हुन्छन्”, कलाकार दीपकराज गिरीले भन्नुभयो, “रियल थेरापीजस्ता आयुर्वेदिक उपचार पद्धत्तिमा आधारित सेवाले मानिसलाई स्वस्थ्यकर बनाउन मद्दत पुग्छ ।”

हास्य कलाकार मनोज गजुरेलले सभ्य र भव्यरुपमा पारिवारिक वातावरणमा खुलेको रियल थेरापी पर्यटकको गन्तव्यका रुपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो । “हामीले बेच्न सक्ने भनेको पर्यटन, कला र संस्कृति नै हो”, उहाँले भन्नुभयो, “हामी पनि हास्य थेरापीमै काम गछौँ, हास्य थेरापीले मानिसको मनलाई सन्तुलित, आनिन्दत र स्वस्थ्य बनाउछ ।”
  नायिक स्वस्तिमा खड्काले स्पा शारीरिक थेरापी मात्रै नभएर मानसिक थेरापी पनि भएकाले व्यस्त जीवनबाट फुर्सद मिलाएर स्वस्थ्यकर जीवनका लागि पनि रियल थेरापी अपरिहार्य भएको बताउनुभयो ।
      महानगरपालिका–२६ का वडाध्यक्ष तिवारीले पर्यटकीय नगरी ठमेलमा नयाँ भवनमा भव्य संरचनासहित पारिवारिक वातावरणमा खुलेको रियल थेरापी स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइ बन्नेमा विश्वास व्यक्त गर्नुभयो ।

  रियल थेरापीका सञ्चालक शर्माले विगत २२ वर्षदेखि पारिवारिक वातावरणमा सञ्चालन हुदैँ आएको पहिलो स्पा भएको दाबी गर्नुभयो । फयामेली स्पा, महिला र पुरुष स्पा छुट्टाछुट्टै रहेको छ । अन्तर्राष्ट्रिय स्तरको आधुनिक सेवा सुरु गरिएको व्यवसायी शर्माले बताउनुभयो । स्पा पछिल्लो समय वैकल्पिक उपचारको माध्यम पनि बनिरहेको छ । नेचुरोपेथी, आयुर्वेद र पञ्चकर्मका रुपमा लिइन्छ । आयुर्वेद चिकित्साको निगरानीमा सबैखालका मानिसलाई मध्यनजर गरेर ‘हेल्ट प्याकेज’ बनाइने शर्माको भनाइ छ ।

  रियल थेरापीमा साउना, स्टिम, जाकुजी, युनिसेक्स सलुनलगायत सेवा पाइन्छ । एक पटकमा ४५ महिला र ६५ पुरुषलाई सेवा दिनेगरी रियल थेरापीको संरचना विस्तार गरिएको छ । रियल थेरापीलाई आगमी दिनमा चेनको रुपमा विस्तार गर्ने योजना रहेको शर्माको भनाइ छ ।