वनका क्याडर सचिवलाई पशुपन्छीमा सरुवा, ८ दिनमा घर जान लागेका सचिवको पनि सरुवा

प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड भन्छन् एक गर्छन् अर्के। हुन् त माओवादीहरूकै शैली नै हो, सशस्त्र द्वन्द्वमा पूर्वमा हल्ला फिजाउने अनि पश्चिममा आक्रमण गर्ने। माओवादी शान्ति प्रक्रियामा आएर सत्ताको राजनीतिको चास्नीमा रमाउन थालेको दुई दशक हुन लाग्दा पनि शैली भने उही पुरानै छ। जे गर्दैन भन्छन् त्यो सुरुमा गर्छन् अनि जे गर्छु भन्छन् त्यो कहिल्यै गर्दैनन्।
त्यसको पछिल्लो दृष्टान्त हो, सचिवहरूको सरुवा। प्रचण्ड कर्मचारी स्थिर सरकार रहेको र आफू हस्तक्षेप नगर्ने भनेर भाषण गर्दै हिँडेका प्रचण्डले वैशाख २० मा सचिवहरूको सरुवा गरेर जात्रै गरेका छन्।

कतिसम्म भने ८ दिनमा अवकाश पाएर घर जान लागेका वैशाख २८ मा अनिवार्य अवकाशमा जान लागेका कृषि तथा पशुपक्षी विकास मन्त्रालयका पशुपक्षी विकासतर्फका सचिव डा. रेवतीरमण पौडेललाई कृषि सचिवमा सरुवा गरियो। उनले बुधबार मात्र कार्यभार सम्हालेका छन्।

अब २ दिन मात्र काम गरेर घर फर्कनेछन्। पौडेल अवकाशमा गएपछि फेरि नयाँ सचिव ल्याउनुपर्नेछ। यति छोटो समयका लागि किन उनलाई कृषिमा लगिएको त्यो कृषिमन्त्री ज्वालाकुमारी साहलाई पनि थाहा छैन। उनी त मोहडा मात्र बनेकी हुन्, यो सबै सरुवा प्रधानमन्त्री प्रचण्डको स्वार्थमा भएको हो। यसको पुष्टि वन सचिव डा. दीपक खरालको सरुवाबाट हुन्छ। खरालले प्रधानमन्त्री र उनका सचिवालय निकटका व्यापारीलाई जथाभावी वन प्रयोग गर्न नदिएपछि रन्थनिएका हुन्।  निजामती सेवामा वनकै क्याडरका खराललाई सरुवा नै गर्नुपर्ने भएमा कृषि सचिवमा पनि गर्न सकिन्थ्यो। किनकी प्रचण्डले रोजेर नै डा. गोविन्दप्रसाद शर्मालाई कृषि सचिव बनाएका छन्।

जो कहिल्यै वन मन्त्रालयमा बसेनन्, उनलाई वन सचिव त बनाए। तर, खराललाई कृषि सचिवको जिम्मेवारी दिँदा व्यापारीको चाहना पूरा नहुने अर्थात् ठिक्क पर्यो भनेर भन्न नसकिने भएकाले उनलाई पशुपन्छीमा पठाइएको हो। जबकी कृषि मन्त्रालयमा एउटा सचिव मात्र भए पुग्छ, दुई सचिवको काम नै छैन। अझ पशुपन्छी सचिवको भूमिका त छँदैछैन भन्दा हुन्छ।

यदी खराललाई कृषि सचिवमा सरुवा गरेको भए। पौडेल पशुन्छी सचिवबाट अवकाशमा जाथे। यो अवस्थामा खराललाई केही दिनमै पशुपन्छी सचिवमा सरुवा गरेमा आलोचना हुने भएपछि सरकारले पौडेललाई चलाएको हो।

खराल यसअघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशक हुँदा सचिवमा बढुवा भएका थिए। तर, त्यतिखेर पनि निकुञ्जमा जलविद्युत, केवलकार र होटल सञ्चालनको अनुमतिका लागि तयार नभएपछि उनलाई पशुपन्छी सचिवका रुपमा थन्क्याइएको थियो। बरु कामु सचिवबाट झन्डै एक वर्ष वन मन्त्रालय चलाइएको थियो। पछि पौडेललाई वन मन्त्रालयको जिम्मेवारी दिइएपछि व्यापक आलोचना भएको थियो । र, ८ महिनाअघि उनलाई वन मन्त्रालयबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा लगिएको थियो।

 अहिले फेरि खराललाई पशुपक्षी क्षेत्र हेर्ने सचिवमा सरुवा गरिएको छ।