विद्यालयको रकम हिनामिना गरेको भन्दै  प्रधानाध्यापकसमेत दुईलाई कैद सजाय

काठमाडौं, २५ वैशाख सुनसरीस्थित श्री प्राथमिक विद्यालय नरसिंहका प्रधानाध्यापकसमेत दुई जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले सोमबार दुई वर्ष अघिको मुद्दामा आंशिक ठहरको फैसला गरेको हो । 

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजालसले गरेको फैसलामा प्रधानाध्यापक र राहत शिक्षक दोषी ठहर भएका छन् । अवकाश पाइसकेका प्रधानाध्यापक सिद्धिनाथ लाल दास र महावीर प्राविका तत्कालीन राहत शिक्षक तथा प्रधानाध्यापक मनोज कुमार चौधरीलाई विशेषले दोषी ठहर गरेको हो । 

उनीहरुले इनरुवास्थित जिल्ला शिक्षा कार्यालय सुनसरीको लेटरप्याड, छाप र दस्तखत किर्ते गर्नुका साथै दस्तखत नमुना कार्ड नै परिवर्तन गरेको भेटिएको थियो । उनीहरुले यसरी पाँच लाख ६० हजार रुपैयाँ हिनामिना गरेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २९ चैत २०७८ मा मुद्दा दायर गरेको थियो । 

यसै मुद्दामा प्रतिवादी बनाइएका राष्ट्रिय वाणीज्य बैंक लिमिटेड इनरुवाका कर्मचारी तारणीप्रसाद खतिवडाले भने सफाइ पाएका छन् । उनीमाथि दास र चौधरीलाई रकम हिनामिना गर्न सहयोग गरेको अभियोग लगाइएको थियो ।