सुन तस्करी प्रकरणः कृष्णबहादुर महरा, सर्वेन्द्र खनालहरूविरुद्ध मुद्दा चल्छ ?

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले नेपाली राजनीति तरंगित छ । सरकारले आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय त गरिसकेको छ । तर, सुन तस्करी प्रकरणमा सत्ता गठबन्धनकै नेताहरू जोडिएका छन्। माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, एमाले नेता सर्वेन्द्र खनालसहितलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थाल्छ कि सरकारको निर्देशनमा फेरि जोगाइन्छ हेर्न बाँकी छ। तर, सुशानका गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गलत गर्ने कसैलाई पनि नछाड्ने भन्दै हिँडेका गृहमन्त्री रवि लामिछानेको असली परीक्षा सुरु भएको छ । 

हुन् त गृहमन्त्री रविले  आइतबार प्रहरी महानिरीक्षक आईजी वसन्तबहादुर कुँवर र सीआईबीका निर्देशक एआईजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर महरालाई कारबाही गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले  महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न निर्देशन दिइएको बताइएको छ । तर उनको यो निर्देशन सार्वजनिक खपतका लागि मात्र हुनसक्ने बताइन्छ । 

प्रमुख प्रतिपक्षी कांग्रेसले गृहमन्त्री रविविरुद्ध सदनमा आवाज उठाएर बैठकसमेत अवरुद्ध गरिरहेका बेला महरा, खनालहरुलाई उन्मुक्ति दिँदा झन समस्या हुने बुझाइ सरकार छ । त्यही भएर प्रहरीलाई अनुसन्धान गर्न भनिएको पनि हुनसक्छ ।

यसअघि सिआइबीले महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

सीआईबीले भेपमार्फत भएको ९ किलो सुन तस्करी र ६० किलो सुन प्रकरणमा फेरि अनुसन्धान गरेर  पुरक अभियोग लैजान सक्छ । प्रतिवेदनमा पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष महरासहित बेल्जियन नागरिक दावा छिरिङका व्यापारिक साझेदार मल्जिल श्रेष्ठ, भन्सार अधिकृतका सवारी चालक अविनाश राउत लगायतलाई मुद्दा चलाउन सिफारिस छ ।

तर, पूर्वआइजीपीसमेत रहेका एमाले नेता सर्वेन्द खनालविरुद्ध पनि अनुसन्धान गर्नुपर्ने देखिएको छ । तस्कर नाइके जीवन चलाउनेले खनालको नाम लिएपछि बयानको कागज च्यातिएको थियो।  चलाउनेलाई नियन्त्रणमा लिई बयान गराएको तर उनले प्रहरीका पूर्वआईजीपी खनाल पनि सुन तस्करीमा संलग्न रहेको भनेर दिएको बयानको कागज च्यातेको विषयमा सीआईबी प्रमुख वज्राचार्यको विषयमा प्रहरीभित्र पहिले नै प्रश्न उठेको थियो ।

सीआईबीको सहयोगमा चलाउने फरार भएको भन्दै एआईजी किरण बज्राचार्यलाई कारबाही सिफारिस गरिएको थियो। कारवाही स्वरुप उनको सरुवा भइसकेको छ । अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहितलाई विभागीय कारबाही गर्न भनिए पनि सरकारले कदम चालेको छैन।  ९ किलो सुन तस्करीमा 

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पनि मुछिएका छन्। उनी पक्राउ त परेका छन् तर सहकारी ठगी मुद्दामा मात्र । सुन प्रकरणमा उनलाई चोख्यान खोजिएको छ । 

भेपमा लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख महरासहितलाई उन्मुक्ति दिइए पनि छोरा राहुलसहित चार जनाविरुद्ध भने यसअघि नै मुद्दा दायर भएको भइसकेको छ ।  ९ केजी ११.५२४ ग्राम सुनलाई ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रुपैयाँ बिगो कायम गरिएको छ । भेपमा सुन ल्याउने गिरोहका ६ चिनियाँ दावाजिन वाङ, आसिन पेङ, ली फेङ पेङ, झाङजिन च्वाँ, ली हसङ र फेङ चेङ लिनलाई खोजी सूचीमा राखिएको छ । प्रतिवादी बनाइएकामध्ये दावा छिरिङ ६१ केजी सुन तस्करी प्रकरणमा हाल पुर्पक्ष थुनामा छन् भने अर्का आरोपित निमा गुरुङ फरार छन् ।