विकासको नमूना परिवर्तन गर्न आवश्यक छ: मुख्यमन्त्री शर्मा

सुझाव सङ्कलन कार्यक्रममा आफ्नो धारणा राख्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विकासको अहिलेको नमूना नै परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । अहिलेको विकासको मोडेलले देश समृद्धि हुन नसक्ने भन्दै विकासको स्वरुप परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको हो । 

    उहाँले कर्णालीको विकासमा सङ्घ सरकारले सहयोग नगरेको गुनासो गर्दै सम्भावना हुँदाहुँदै पनि कर्णालीलाई ध्यान नदिइएको गुनासो गर्नुभयो । उहाँले कर्णाली प्रदेश अन्य प्रदेशभन्दा पछाडि पारिएको भन्दै सङ्घीय सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभयो । 

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले १६औँ योजनामा सङ्घीय संरचनालाई बलियो बनाउनेगरी योजना बन्ने बताउनुभयो । उहाँले लक्ष्य हासिल हुनेगरी कार्यान्वयनमा जोड दिइने उल्लेख गर्नुभयो । चौधौँ योजनाको बेलाको जस्तैगरी १६औँ योजना बनाउनेगरी आयोगले सुझाव सङ्कलन गरिरहेको बताउनुभयो । 

    कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले सङ्घीय सरकारले सहयोग नगरेका कारण कतिपय परियोजना अघि बढाउन समस्या भएको बताउनुभयो । भूकम्पको सन्दर्भमा प्रदेश योजना आयोगलाई समेत सहभागी नगराई काम भएको भन्दै उहाँले गुनासोसमेत गर्नुभयो ।

    सोह्रौँ पञ्चवर्षीय योजना कस्तो बनाउने भन्ने सुझाव लिनका लागि आयोग उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, सदस्य सचिव डा तोयनारायण ज्ञवाली, सहसचिव महेश भट्टराई सहितको टोली सुर्खेत आइपुगेको छ । आयोगले यसअघि छ वटा प्रदेशमा पुगेर सुझाव लिइसकेको छ । आयोगले भोलि कर्णालीका स्थानीय तहका जनप्रतिनिधिसँग पनि सुझाव लिनेछ ।