मुख्यमन्त्रीहरुले प्रम ‘प्रचण्ड’लाई भेटेर दिए आन्दोलनको चेतावनी

काठमाडौं– ६ प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न अनुरोध गरेका छन्। 

शनिबार बिहान सरकारी निवास बालुवाटार पुगेर ६ प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग भेट गरेका हुन्। मुख्यमन्त्रीहरुले तीनै तहका सरकारको भूमिकालाई प्रभावकारी बनाउने गरी संघीय सरकारले भूमिका निर्वाह गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। 

मुख्यमन्त्रीहरुले संघीयताको कार्यान्यन र संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गर्नका लागि संघ सरकारले बढी जिम्मेवार बन्नुपर्ने बताए। 

यसअघि बागमती प्रदेशको राजधानी हेटौँडामा सबै प्रदेशका मुख्यमन्त्रीहरुको अन्तरप्रदेश मुख्यमन्त्रीको बैठक बसेको थियो। मुख्यमन्त्रीहरुले अन्तरप्रदेश मुख्यमन्त्रीको बैठकले तयार पारेको ९ बुँदे साझा पत्र समेत प्रधानमन्त्री प्रचण्डलाई बुझाए। 

यसअघि पोखरामा बसेको अन्तर प्रदेश मुख्यमन्त्रीको बैठकले गरेका निर्णय कार्यान्वयन नगरिएको भन्दै मुख्यमन्त्रीहरुले हेटौँडा बैठकका निर्णय संघ सरकारले कार्यान्वयन नगरे आन्दोलनमा जाने चेतावनी समेत दिए। मुख्यमन्त्रीहरुले यसअघि पोखरा बैठकका निर्णय कार्यान्वयन गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। 

शनिबार प्रधानमन्त्रीलाई भेट्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, लुम्बिनीका मुख्यमन्त्री डिल्लीराम चौधरी र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा सहभागी थिए। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह कार्यव्यस्ताका कारण काठमाडौं आएनन्।