कर्णालीबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी

कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । 

सत्ता गठबन्धनबाट दलित समूहतर्फ नेकपा (माओवादी केन्द्र)का विष्णु बिक, महिला समूहतर्फ नेकपा (एकीकृत समाजवादी)का सावित्री मल्ल र अन्य समूहतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाय विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत उज्ज्वलदेव रावलले जानकारी दिनुभयो । 

दलिततर्फका उम्मेदवार विकले तीन हजार आठ १७ मतभार प्राप्त गर्नुयो भने प्रत्यासी नेकपा (एमाले)का हिक्मत विकले एक हजार दुई सय ६७ मतभार पाउनुभयो । महिलातर्फ एकीकृत समाजवादीका मल्लले तीन हजार सात सय २२ मतभार प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा (एमाले)की बिमलाकुमारी शाहीले एक हजार तीन सय ६२ मतभार प्राप्त गर्नुभयो । अन्य समूहतर्फबाट उम्मेदवार बन्नुभएका कांग्रेसका रोकायले तीन हजार आठ सय ७० मतभार प्राप्त गर्दा एमालेका भट्टले एक हजार दुई सय १४ मतभार प्राप्त गर्नुभयो । 

कर्णालीमा आज सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा ४० प्रदेशसभा सदस्य र एक सय ५६ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुले मतदान गर्नुभयो ।