बैतडीमा मेलौली र पुर्चौडी दुई स्थानीय तह सिल

बैतडी -  विश्व्यापी महामारी रुपमा फैलिएका कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको भन्दै बैतडीका दुई स्थानीय तहलाई सिल गरिएको छ । जिल्लाको मेलौली नगरपालिका र पुर्चौडी नगरपालिका क्षेत्रलाई सिल गरिएको हो ।

असोज १३ देखि असोज १७ गते राति १२ बजेसम्मका लागि नगरक्षेत्र सिल गरिएको हो । मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टका अनुसार संक्रमण पुष्टि भएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गर्ने कार्य हुने भएकाले नगरक्षेत्र सिल गरिएको हो ।

यस्तै जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रलाई पनि असोज ११ गतेदेखि अनिश्चितकालका लागि सिल गरिएको छ ।भारतबाट फर्किएका एक जनाको कोरोनाका कारण मृत्यु भएको र आठ जना नयाँ संक्रमित थपिएपछि नगरक्षेत्र सिल गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले जानकारी दिए ।सिल भएको अवधिमा स्वास्थ्य बाहेक र आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा बन्द रहेको दुवै स्थानीय तहले जनाएका छन् ।