महिला र पुरुष गरी दुई जना कोरोना संक्रमितको मृत्यु

बुटवल - रुपन्देही र कपिलवस्तुमा गरी दुई जना कोरोना संक्रकितको मृत्यु भएको छ ।
रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा बुधबार बिहान १० बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए ।

उनलाई असोज ११ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए । सोही क्रममा उनको पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई कोरोना अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । उनलाई मिर्गौला र रगतमा समेत खराबी देखा परेको अस्पतालले जनाएको छ ।

यसैगरी कपिलवस्तुकी ५० वर्षीया महिलाको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा आज (बुधबार) बिहान ५ बजे मृत्यु भएको कलेजका जनसम्पर्क अधिकृत सुशिल गुरुङले जानकारी दिए । असोज ५ गते नै गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । ती महिलालाई निमोनिया र मुटुका दीर्घरोगी समेत रहेको थिए ।