बुटवलको कोरोना अस्पतालमा उपचाररत संक्रमित महिलाको मृत्यु

रूपन्देही-  बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको आज सोमबार बिहान मृत्यु भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका-५ की ४७ वर्षीया महिलाको बिहानतिर मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

दुवै मिर्गौला फेल भएकी उनले बुटवलको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा डायलसिस गराइरहेकी थिइन् । उनलाई खोकी लागेको र श्वासप्रश्वासमा पनि समस्या भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा लगी पिसिआर जाँच गरिएको थियो ।

भदौ २१ गते कोरोना विशेष अस्पताल भर्ना भएकी ती महिलाको श्वासप्रश्वासमा समस्या भई मृत्यु भएको थापाले जानकारी दिए ।