''बालेन सरकारले सय दिन नपुग्दै तमाम गल्ती गरिसक्यो''

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता डा. धवल शमशेर राणाले वर्तमान सरकारको आयुलाई लिएर देशभर प्रश्न उठिसकेको टिप्पणी गरेका छन्। 

बालेन्द्र (बालेन) साह नेतृत्वको वर्तमान सरकारले सय दिन नपुग्दै धेरै गल्ती गरिसकेकाले यसको विकल्पका रूपमा आफूहरूले नयाँ राष्ट्रवादी पार्टी खोल्न लागेको उनले दाबी गरे। काठमाडौँमा आइतबार आयोजित ‘राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रम’ मा बोल्दै नेता राणाले यस्तो जिकिर गरेका हुन्।

नयाँ पार्टीको सांगठनिक ढाँचा र नेतृत्वका विषयमा प्रस्ट पार्दै राणाले नयाँ दलको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गर्ने जानकारी दिए। राजा र हिन्दु राष्ट्रको एजेन्डा बोकेर प्रसाईं देशव्यापी रूपमा निमुखा जनताको नेता र एउटा स्थापित 'ब्राण्ड' बनिसकेकाले उनीसँग सल्लाह मिलेको राणाले बताए। 

सहमति अनुसार प्रसाईं पार्टीको नेता र मुख्य ब्राण्ड हुने तथा आफूहरूले पार्टी चलाउने आन्तरिक तयारी छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र कायम गर्ने एजेन्डालाई इमानदारिताका साथ अघि नबढाएकाले आफूहरूले राजसंस्था र हिन्दु राज्यको एजेन्डा रेस्क्यु गर्न नयाँ पार्टी स्थापना गर्नुपरेको उनको आरोप छ।

राणाले बालेन सरकार देशमा असफल भएमा नेपाली जनताले एमाले, काङ्ग्रेस, माओवादी वा राप्रपा नभई राजासहितको प्रजातन्त्र बोक्ने र हिन्दु राष्ट्र ल्याउने आफ्नो नयाँ पार्टीलाई विकल्पका रूपमा रोज्ने संकल्प व्यक्त गरे। उनले देशैभरबाट आएका सन्देश र सङ्केतहरूले आगामी दुई–तीन महिनाभित्रै यो दल नेपाली जनताका माझ एउटा मजबुत शक्तिका रूपमा स्थापित हुने दाबी समेत गरे। हाल मलमास परेका कारण नयाँ पार्टीको नाम र झण्डासहितको औपचारिक कार्यक्रम केही समयपछि मात्रै सार्वजनिक गरिने निर्णय भएको छ। यो नयाँ बन्ने राष्ट्रवादी पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा समेत भाग लिने घोषणा गरेको छ।