‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ‘मानवीयताको शहरः काठमाडौं’ भन्ने मूल नारासहित सामाजिक न्याय, नागरिक संवेदना र पर्यावरणमैत्री कार्यक्रमलाई प्राथमिकतामा राख्दै नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

नगरसभाको १९औँ अधिवेशनमा कार्यवाहक प्रमुख सुनिता डंगोलले ज्येष्ठ नागरिक, अशक्त व्यक्ति, सडक आश्रित नागरिक, पशुपक्षी तथा वातावरण संरक्षणलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

महानगरले ‘ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर अभियान’ सञ्चालन गर्दै घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने, ७५ वर्षमाथिका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिलाई पोषण भत्ता उपलब्ध गराउने घोषणा गरेको छ।

त्यस्तै, सडक आश्रित तथा घरबारविहीन नागरिकको उद्धार तथा व्यवस्थापन गरी काठमाडौंलाई ‘सडक आश्रित मानवमुक्त शहर’ बनाउने लक्ष्य लिइएको छ। शहरी जैविक विविधता संरक्षणका लागि विद्यालय, समुदाय र पार्कमा पंक्षीमैत्री कार्यक्रम सञ्चालन गरिने तथा चराचुरुङ्गीका लागि पानी पात्र स्थापना गरिने जनाइएको छ।

महानगरले परम्परागत सीप र शिल्पकलाको संरक्षणका लागि कालीगढ तथा शिल्पीहरूको क्षमता प्रमाणीकरण गरी प्रमाणपत्र प्रदान गर्ने व्यवस्था समेत गर्ने भएको छ।

युवामैत्री कार्यक्रम, बाइक एम्बुलेन्स सेवा, विपन्न नागरिकको उपचारको अनुगमन, ज्येष्ठ नागरिकलाई निमोनिया खोप तथा मानसिक स्वास्थ्यका लागि कल सेन्टर सञ्चालनजस्ता कार्यक्रम पनि आगामी वर्षको प्राथमिकतामा परेका छन्।