व्यापारीसँग रकम लिएको आरोपमा एक प्रहरी अधिकृत निलम्बित

काठमाडौं- व्यापारीसँग रकम लिएको आरोप लागेका काठमाडौंको सोह्रखुट्टेस्थित लैनचौर प्रहरी वृत्तमा कार्यरत एक प्रहरी अधिकृत निलम्बनमा परेका छन्। काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार प्रहरी नायव निरीक्षक (सई) गणेश भट्टलाई प्रारम्भिक अनुसन्धानका आधारमा निलम्बन गरिएको हो।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ठमेल क्षेत्रका केही व्यापारीसँग रकम लिएको आरोपबारे छानबिन गर्दा त्यससम्बन्धी प्रमाण फेला परेपछि सई भट्टलाई निलम्बन गरिएको जानकारी दिए।

उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। अनुसन्धानबाट थप तथ्य र प्रमाण प्राप्त भए कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रहरी संगठनभित्र अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम राख्न घटनाको विस्तृत छानबिन जारी रहेको पनि परिसरले जनाएको छ।