एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ

 लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले ललितपुरमा एक राउन्ड गोली प्रहार गरी ठुलो परिमाणमा लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । बाराको सिम्रौनगढबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश बी ए डी ९२०१ नम्बरको रातो रङको सुजुकी कारमा लागु औषध लुकाई ल्याइँदै छ भन्ने विशेष सूचनाका आधारमा प्रहरीले यो कारबाही गरेको हो ।

ललितपुर महानगरपालिका वडा नं. २३ स्थित गैरी गाउँबाट नख्खुतर्फ आउँदै गरेको उक्त कार र बा ५२ प ४५६७ नम्बरको मोटर साइकललाई फेला पारी रोक्न खोज्दा उनीहरूले प्रहरीको निर्देशनलाई अटेर गरेका थिए । प्रहरी टोलीको नियन्त्रणबाट भाग्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले कारको पछाडिको दाहिनेतर्फको टायरमा एक राउन्ड गोली प्रहार गरेको थियो । गोली प्रहारपछि प्रहरीले सवारी साधनहरूलाई नियन्त्रणमा लिएर 

खानतलासी गर्ने क्रममा कारको पछाडिको डिक्कीभित्र लुकाई राखेको अवस्थामा ३०,००० क्याप्सुल लागु औषध ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट लागु औषधसहित रातो रङको सुजुकी कार, सेतो रङको एफजेड मोटर साइकल र ५ थान मोबाइल फोन समेत बरामद गरेको छ ।

घटनामा संलग्न रहेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिका–३ का ३५ वर्षीय जितेन्द्र पासवान, भारत बिहार सीतामढीका ३२ वर्षीय अहमद लड्न र ३३ वर्षीय महम्मद सदाम पक्राउ परेका छन् । ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीका अनुसार पक्राउ परेका तीनै जनामाथि लागु औषध नियन्त्रण ऐन बमोजिम थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।