मौसमविद्लाई प्रश्न– नेपालमा मनसुन प्रवेश गरिसकेको हो ?

काठमाडौं । देशका धेरै स्थानमा आज वर्षाको सम्भावना छ । कतिपय स्थानमा भने वर्षा भइरहेको छ । काठमाडौंसहित वाग्मती प्रदेशका धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, चितवनलगायत जिल्लामा वर्षा भइरहेको छ । 

सुदूरपश्चिमका धेरै स्थानमा र कर्णालीका केही भूभागमा पानी परिरहेको छ । गण्डकी प्रदेशका पूर्वी भूभागमा वर्षा भइरहेको छ । कोसीका एकाध स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

जलवायुविज्ञ धर्मराज उप्रेती आज देशका धेरै स्थानमा वर्षा हुने बताउँछन् । “आज पश्चिमी वायु पूर्वतिर सर्दै छ । मनसुनी वायु नेपाल प्रवेश  गर्दै  गरेकाले देशको पश्चिमदेखि मध्य र पूर्वी  भागमा वर्षा, हावाहुरीसमेतको सम्भावना छ,” उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन् । 

मौसमविद् विनोद पोखरेलले भारी वर्षा हुने क्रम जारी रहेको बताएका छन् । फेसबुकमा उनी लेख्छन्,  “आज पनि केही ठाउँमा भारी वर्षाको सम्भावना छ ।” 

भोलिदेखि तराईमा एक हप्तासम्म वर्षाको सम्भावना घट्दै जाने उनको भनाइ छ । “पहाडी र हिमाली भेगमा हल्का वर्षा हुने देखिन्छ,” उनी भन्छन् । 

धेरै स्थानमा वर्षा भइरहे पनि मनसुन भने प्रवेश गरिनसकेको जल तथा मौसम विज्ञान विभागका मौसविद् सञ्जिव अधिकारी बताउँछन् । “मनसुन नेपालमा प्रवेश गरिसकेको छैन । हामीले तोकेका केही मापदण्ड पूरा हुन अझै बाँकी छ,” उनले बाह्रखरीसँग भने । 

सबै मापदण्ड पूरा भएपछि मनसुन नेपाल प्रवेश गरेको घोषणा गरिने उनले बताए । “अहिले पनि वायु पश्चिमबाट पूर्वतर्फ नै बहिरहेको छ,” मौसमविद् अधिकारी भन्छन्, “भोलि/पर्सितिर विभागले मनसुनबारे घोषणा गर्नेछ ।” 

विभागका अनुसार दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ । 

कोसी र मधेस प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

विभागले राति कोसी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । मधेस प्रदेशलगायत तराई भूभागमा आंशिक बादल लाग्नेछ । 

कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा/हिमपातको पूर्वानुमान छ । 

मधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका तराई भूभाग साथै देशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना  छ । 

नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १३ अथवा भोलि हो । तर, यो भन्दा अगाडि अथवा पछाडि पनि मनसुन प्रवेश गर्ने सम्भावना हुन्छ ।

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायुको प्रभाव रहेको छ ।