पदभार सम्हालेपछि गृहमन्त्री सुधन गुरुङले के-के गरे निर्णय ?

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको शपथ लिएपछि मन्त्रालय पुगेर मन्त्री गुरुङले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री गुरुङले सञ्चारकर्मीसँग कुरा गर्दै सत्य र तथ्यका आधारमा मात्रै आलोचना गर्न आग्रह गरे । नागरिकको अपमान र चरित्रहत्या गर्ने प्रवृत्तिविरुद्ध मन्त्रालय संवेदनशील भएर प्रस्तुत हुने उनको भनाइ छ ।

पदभार ग्रहणकै क्रममा मन्त्री गुरुङले गृह प्रशासन र सुरक्षा निकायलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित ७ वटा निर्णयमा हस्ताक्षर गरेका छन् ।

उनले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिनेबारे अध्ययन तथा सिफारिसका लागि विशेष कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।

यसका साथै गृह मन्त्रालय तथा सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावट रोक्न र सूक्ष्म निगरानीका लागि ‘सेन्सेटिभ इन्फर्मेसन भिजिलेन्स टिम’ गठन गर्ने निर्णय गरेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप सशक्त बनाउने तथा हाल अनुसन्धानमा रहेका पुराना फाइलहरूलाई शीघ्र टुंगोमा पुर्‍याउने निर्णय पनि गरेका छन् ।

त्यस्तै, जघन्य, आर्थिक र संगठित अपराधका घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्न सीआईबीमा ‘स्पेसलाइज्ड टिम’ (विशेष टोली) गठन गर्ने निर्णय पनि उनले गरेका छन् ।

मन्त्री गुरुङले विगतका सबै गम्भीर प्रकृतिका घटनाका फाइलहरूलाई निष्कर्षमा पुर्‍याउने संकेत गर्दै अबदेखि हरेक फाइल खोलिने र कुनै पनि विषयलाई बेवास्ता नगरिने बताए ।

त्यस्तै, २०५८ जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्याकाण्डसम्बन्धी विगतका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिन प्रक्रिया अगाडि बढाउने निर्णय पनि उनले गरेका छन् ।