अमेरिका-इरान सहमतिसँगै कच्चा तेलको मूल्य घट्यो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने सहमति भएको दाबी गरेसँगै कच्चा तेलको मूल्य घटेको छ । राष्ट्रपति ट्रम्पले इरानी बन्दरगाहहरूमा अमेरिकाले लगाएको सैनिक नाकाबन्दी खोल्ने घोषणा गरेका थिए ।
जेनेभामा आगामी शुक्रबार शान्ति सम्झौतामा औपचारिक हस्ताक्षर भएसँगै हर्मज जलमार्ग पुनः सुचारु हुने उनले बताएका छन् ।
शान्ति वार्ताको टुङ्गो लागेसँगै सोमबार कच्चा तेलको विश्वव्यापी बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ३.९ प्रतिशतले घटेर प्रतिब्यारेल करिब ८४ डलर आसपास कारोबार भएको छ । यस्तै, अमेरिकी क्रुडको मूल्य पनि ४.८ प्रतिशतले ओरालो लाग्दै प्रतिब्यारेल करिब ८१ डलर पुगेको छ ।
यद्यपि, गत फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गर्नुअघिको प्रतिब्यारेल ७० डलर आसपासको मूल्यमा झर्न भने केही समय लाग्ने विज्ञहरूले बताएका छन् । कच्चा तेलको आपूर्तिलाई पुरानै लयमा फर्काउन अझै थुप्रै चुनौतीहरू बाँकी नै रहेको उनीहरूको भनाइ छ ।
अबका दिनमा हर्मज जलमार्गमा बिछ्याइएका विस्फोटक पदार्थहरू हटाउनुपर्ने, त्यहाँ जहाजहरूको आवतजावत पूर्ण रूपमा खुला गरिनुपर्ने, पश्चिम एसियाका तेल उत्पादन पुनः सुचारु हुनुपर्ने, आपत्कालीन पेट्रोलियम भण्डारहरू फेरि भर्नुपर्ने र युद्धका कारण क्षतिग्रस्त भएका ऊर्जा संरचनाहरूको मर्मतसम्भार गर्नुपर्नेजस्ता ठूला कामहरू बाँकी छन् ।
त्यही कारण कच्चा तेलको मूल्य अझै केही समयसम्म उच्च विन्दुमै रहने आँकलन तेल विश्लेषकहरूले गरेका छन् ।
युद्धका कारण पश्चिम एसियाका अधिकांश तेल खानीहरू बन्द गरिएकाले तिनीहरूलाई पुनः सञ्चालन गरी उत्पादन बढाउन हप्तौँ लाग्न सक्ने उनीहरूको विश्लेषण छ ।
'जबसम्म जहाजहरूले नियमित र सुरक्षित रूपमा आउ–जाउ सुरु गर्दैनन्, तबसम्म हर्मज जलमार्ग वास्तवमै खुला भएको कुरामा बजारले आशंका गरिरहने देखिन्छ,' र्यापिडान इनर्जीका अध्यक्ष बब म्याकनालीले आइतबार एबीसीको 'दिस विक' कार्यक्रममा भने,' आपूर्तिमा अवरोध लम्बियो र आपत्कालीन भण्डारहरू रित्तिए भने तेलको मूल्य अझै आकासिने जोखिम पनि छ ।'
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे
मध्यपूर्वमा तनाव कम हुने सङ्केतसँगै विश्व ऊर्जा बजारमा सुधार, कच्चा तेलको मूल्य…
अमेरिका–इरानबीच '१४ बुँदे ऐतिहासिक सम्झौता' को दाबी: युद्धविरामदेखि ३00 अर्…
खाना खुवाउने टोली हिँडेपछि पैसा उठाएर चिउरा दालमोठ खाए सुकुम्बासीले
इतिहासकै ठूलो वित्तीय अपराधको मुद्दा, १ खर्ब ५ अर्ब रुपैयाँ बिगो दाबी
प्रतिक्रिया