रास्वपा मधेशका जिल्ला-पालिका अधिवेशन : कतै विवाद, कतै कुटाकुट
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिरहा जिल्ला अधिवेशनका क्रममा सोमबार दुई समूहबीच कुटाकुट भयो । कुटाकुटमा ¥यापिड एक्सन टिमका जिल्ला प्रमुख दिनेश थापालगायत केही नेता–कार्यकर्ता घाइते भए ।
सिरहामा रास्वपाको नयाँ नेतृत्वका लागि सुभाष यादव, रामसोगारथ यादव र वर्तमान सभापति हरि मैनाली आकांक्षी रहेका छन् । रामसोगारथले आफू सर्वसम्मत हुनुपर्ने दाबी गर्दै आएका छन् । सुभाष र हरि भने चुनावमार्फत नेतृत्व चयन हुनुपर्ने अडानमा छन् ।
झडपपछि पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले विज्ञप्ति जारी गर्दै मंगलबार बिहान ९ बजेसम्मका लागि अधिवेशन स्थगित गरे । यहाँ तीन जना आकांक्षीमध्येबाट आइतबारदेखि नै एक जनालाई सर्वसम्मतिमार्फत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ ।
एक नेताका अनुसार यहाँबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आफ्ना निकटका व्यक्तिलाई नेतृत्वमा ल्याउने प्रयास गर्दा विवाद बल्झिँदै गएको छ ।
रास्वपा महोत्तरी अधिवेशन बन्द सत्रमा विवाद भएपछि आइतबार स्थगित भयो । शनिबार जलेश्वरमा उद्घाटन सत्रपछि दोस्रो दिनको बन्द सत्र रामगोपालपुरमा राखिएको थियो ।
अधिवेशनको पूर्वसन्ध्यामा तदर्थ समितिका अध्यक्ष शुभमकुमार यादवलाई पार्टीले कारबाही गर्दै अधिवेशनमा सहभागी नगराउन केन्द्रबाट पत्र पठाएपछि अधिवेशनस्थलमा मतभेद भएको थियो । दुई पक्षबीचको विवादका कारण अधिवेशन अनिश्चित समयका लागि स्थगित गरियो ।
गत जेठ १६ गते धनुषाको गणेशमान चारनाथ नगरपालिकामा प्रतीक नेपालको नेतृत्वमा समिति चयन गर्दै अधिवेशन सम्पन्न भयो । रास्वपाका केन्द्रीय परिषद् सदस्य प्रमिला सिंह र धनुषा जिल्ला सचिव नरेन्द्र कार्कीको विशेष उपस्थितिमा अधिवेशन भएको थियो ।
त्यसको भोलिपल्ट जेठ १७ गते पुनः अधिवेशन भएर राकेश यादवको नेतृत्वमा अर्को समिति चयन गरियो । विशेष उपस्थिति पार्टीका धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादवको थियो । उजुरी केन्द्रीय निर्वाचन आयोगमा पर्यो । १७ गते अधिवेशन गरेका पक्षधरले वैधता आफूहरूले पाउनुपर्ने भन्दै शनिबार जनकपुरको बंशीचोकस्थित रास्वपा पार्टी कार्यालयमा नाराबाजी गर्दै तालाबन्दी गरे । स्थानीय नेता बाली शर्मा अनसन बसे । सोमबार सहमति गराएर अनसन तोडिएको छ ।
गत जेठ १७ गते जनकपुरधाम उपमहानगरपालिकाको अधिवेशन भयो, जहाँबाट ललन नायकको नेतृत्वमा समिति चयन भयो । उजुरी निर्वाचन आयोगमा प¥यो । पुनः आइतबार जनकपुरधाम उपमहानगरपालिकाको अधिवेशन भयो । ललन नायक र जितेन्द्र महासेठ उम्मेदवार थिए । जसमा मतदान प्रक्रियामार्फत नायक नै सभापतिमा निर्वाचित भएका छन् ।
माथि उल्लेखित घटनाहरू उदाहरण मात्र हुन् । मधेश प्रदेशका धेरै स्थानीय पालिका र जिल्लाका अधिवेशनमा विवादै विवाद देखिएको छ । विवादित पालिकाको अधिवेशन थाती राखेर जिल्ला अधिवेशन गर्ने कार्य भइरहेको छ ।
सिरहा जिल्ला अधिवेशनमा १७ मध्ये १५ वटा पालिकालाई मात्र सहभागी गराइएको छ । विवाद भएका दुई पालिका भगवानपुर गाउँपालिका र नवराजपुर गाउँपालिकालाई सहभागी गराइएको छैन । यी दुई पालिकामा तदर्थ समिति गठन हुँदा पनि विवाद भएको थियो । त्यस कारण १५ पालिका मात्र सहभागी नगराइएको औरही नगरपालिका पार्टी सभापति सन्तोष यादवले बताए ।
तर, जिल्ला अधिवेशन आइतबारदेखि गर्ने प्रयास गर्दा विवादित बनेको छ । यही अधिवेशनमा आइतबार झडप नै भयो । यसरी जिल्ला अधिवेशन पनि विवादरहित रहन सकेको छैन । कुटाकुट र भाँडभैलो देखिएका छन् ।
धनुषामा १८ मध्ये १५ वटा पालिकाको अधिवेशन सम्पन्न भएको छ । धनुषाधाम, हंसपुर र नगराइन नगरपालिकामा अझै हुन सकेको छैन । यी तीन पालिकको अधिवेशन थाती राखेर मंगबलार धनुषा जिल्लाको अधिवेशन राखिएको छ ।
पार्टी स्रोतका अनुसार रौतहट जिल्लाको अधिवेशन पनि विवादित छ । त्यहाँ बाहिरका प्रतिनिधि पनि राख्नुपर्ने प्रतिनिधिसभा सदस्यहरूको अडानका कारण विवाद भएको छ । भोलि मंगलबार त्यहाँको जिल्ला अधिवेशन हुने समय तय थियो । तर अन्तिम समयमा अपराह्न स्थगित गरिएको छ ।
विवादकै कारण बारा जिल्ला अधिवेशन अन्योल बनेको थियो । सभापति रहेका चन्दन स्वर्णकारलाई कारबाही गरेर पार्टीबाट निकालेपछि विवाद बल्झिएको थियो । त्यसका कारण दुई साताअघि जिल्लामा बसेको विस्तारित बैठकमा प्रतिनिधिसभा सदस्यहरू नै चपेटामा परे । त्यहाँ भागाभागको अवस्था सिर्जना भएको थियो ।
त्यहाँ सांसद कामनी चौधरीको संयोजकत्वमा पाँच सदस्यीय जिल्ला संगठन निर्माण समिति केन्द्रले चयन गरेको थियो । सो समितिमा मधेशका महामन्त्री मनिषकुमार साहसमेत छन् । समितिले वडादेखि पालिका स्तरसम्मका अधिवेशन गराएर मंगलबार जिल्ला अधिवेशनको समय तय गरेको छ ।
सर्लाहीमा जिल्ला अधिवेशनका लागि बनेको प्रतिनिधिको सूचीमै विवाद छ । यसका कारण त्यहाँ अधिवेशनबारे अन्योलता छ । पर्सामा दुई दिनअघि जिल्ला अधिवेशनमा विवाद भएको थियो । आज त्यहाँ निर्वाचन भइरहेको छ । सुशील साह कानु र हरि पन्त जिल्ला सभापतिका उम्मेदवार छन् । पन्त प्रतिनिधिसभा सदस्य हुन् ।
प्रतिनिधिसभा सदस्यहरू सहभागी हुन थालेपछि रास्वपाले सूचना नै निकालेर उनीहरूलाई अधिवेशनमा प्रत्यक्ष रूपमा नलाग्न भनेको थियो । तर वडा तहसम्म रास्वपाका कतिपय सांसदले आफ्ना मान्छे जिताउन लागेपछि विवाद बढेको चर्चा सतहमा छ । यसलाई पार्टीका नेताहरूसमेत स्वीकार्छन् ।
चुनावको बेला आफू जित्नका लागि स्थानीय स्तरका कार्यकर्तासँग गरेका प्रतिबद्धताले पनि यो परिस्थिति सिर्जना भएको बुझाइ छ ।
‘निर्वाचित सांसदहरूले गत चुनावमा स्थानीय नेता–कार्यकर्तासँग आफू चुनाव जित्न गरेको कमिन्टमेन्टले उनीहरूलाई नेतृत्वमा ल्याउन सघाउन खोजेको जिल्लाहरूमा देखिएको छ,’ रास्वपाका मधेश महामन्त्री मनिषकुमार साह भन्छन् ।
रास्वपा सांसद बारा–४ बाट निर्वाचित रहबर अन्सारी मधेशको सबभन्दा ठूलो पार्टी भइसकेपछि धेरैले स्पेस खोज्दा सानातिना विवाद हुनु स्वाभाविक रहेको ठान्छन् ।
‘ठूलो पार्टी हो । चुनावमा धेरैले मत दिएका छन् । विभिन्न संगठन र दलबाट आएका मानिसले पनि स्पेस खोज्दा सानातिना विवाद देखिएको छ । यो स्वाभाविक हो,’ उनी भन्छन् ।
रास्वपामा विवादको कारण महत्त्वाकांक्षा
गत फागुन २१ गतेको प्रतिनिधिसभा चुनावमा मधेशमा रास्वपाको अप्रत्यासित परिणाम आयो । ३२ मध्ये धनुषा–१ र रौतहट–४ बाहेक ३० वटै सिट रास्वपाले जितेको छ । रास्वपाका वरिष्ठ नेता बालेन शाहको इन्ट्रीले मधेशमा चुनावी माहोल नै फेरियो । नपत्याइएका उम्मेदवारहरू भारी मतान्तरले विजयी भए । देशैभरि १८२ सिटसहित रास्वपाले चुनावी परिणाम ल्यायो ।
अभूतपूर्व परिणामले स्थानीय नेता–कार्यकर्तामा महत्त्वाकांक्षा पलाएको छ । आगामी स्थानीय तथा प्रदेशसभा चुनावमा टिकट हात पार्ने र टिकट वितरणमा आफ्नो पकड कायम गर्न नेता–कार्यकर्ताले चाहेको देखिन्छ । अन्य पार्टीबाट समेत अवसर खोज्दै आएका नेता–कार्यकर्ता पनि पद र पोजिसनमा रहन चाहेका छन् ।
विवादको अर्को कारण हालै केन्द्रमा निर्वाचन आयोगमा हेरफेर भएर आएका केही पदाधिकारीले समन्वय नगरी प्रत्येक उजुरी उपर निर्णय गर्न खोज्दा पनि समस्या बल्झिएको रास्वपा मधेश महामन्त्री साहको तर्क छ ।
संगठनको विवरण अध्यावधिक संगठन विभागको मातहतका नभई पार्टीमा जिम्मेवार नजिकका व्यक्तिको माध्यमबाट अध्यावधिक गर्दा पनि समस्या देखिएको उनको भनाइ छ ।
रास्वपाले भन्यो– प्रधानमन्त्रीले सदनमा जवाफ दिनुहुन्न
इरानमाथि आक्रमण नगर्न नेतन्याहूलाई ट्रम्पको चेतावनी
प्रधानमन्त्री शाहले लगाएको गोल्डस्टारको ‘बालेनले लगाएको जुत्ता’
फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या ३५ नाघ्यो, २०० भन्दा बढी घाइते
विश्वकपमा इतिहासकै ठूलो परिवर्तन! नयाँ नियमले फुटबललाई ‘मेकानिकल’ बनाउने डर
नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह
रास्वपाको प्रदेश अधिवेशन आजदेखि, बागमतीको रविले उद्घाटन गर्ने
प्रतिक्रिया