रास्वपाको प्रदेश अधिवेशन आजदेखि, बागमतीको रविले उद्घाटन गर्ने
काठमाडौं । वडा, पालिका, जिल्लामा धमाधम अधिवेशन सम्पन्न गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि प्रदेशका अधिवेशन पनि सुरु गर्दैछ ।
केही जिल्लाबाहेक प्राय: जिल्लामा नयाँ नेतृत्व चयन गरेको रास्वपाले प्रदेश अधिवेशन सुरु गर्न थालेको हो ।
रास्वपाले आज बिहान बागमती प्रदेशको अधिवेशन उद्घाटन गरी प्रदेश अधिवेशन सुरु गर्दैछ । बागमती अधिवेशन प्रदेश राजधानी हेटौंडामा बिहान उद्घाटनको तयारी गरिएको हो ।
अधिवेशनको हेटौंडास्थित हिमालयन दरबारमा हुने अधिवेशनको उद्घान पार्टी सभापति रवि लामिछानेले गर्ने तय भएको छ । बागमतीपछि अन्य प्रदेशको अधिवेशन सुरु हुनेछ ।
पहिलो अधिवेशनमा बागमतीको सभापति पदका लागि दुई जना आकांक्षी देखिएका छन् । हालका बागमती सभापति डा. अच्युत्तम लामिछाने अधिवेशनमार्फत सोही पदमा दोहोरिन चाहेका छन् ।
लामिछानेले अनलाइनखबरसँग भने, ‘यही जिम्मेवारीमा रहन चाहेको छु । केन्द्रीय समितिमा जाने चाहना अहिलेको लागि छैन ।’
अधिवेशनबाट नयाँ नेतृत्व चुनावमार्फत आउने उनले जानकारी गराए । लामिछानेले भने, ‘साथीहरूले पनि इच्छा देखाउनु भएको सुनेको छु । चुनाव होला ।’ लामिछाने रास्वापको बागमती प्रदेश सभापति स्थापनाकालदेखि छन् ।
सभापति पदका लागि अर्को आकांक्षी उत्सव अर्याल देखिएका छन् । अर्याल बागमती समितिमा हाल प्रवक्ता छन् । रास्वपाका केन्द्रीय विभागका एक सदस्यका अनुसार दुवैतर्फबाट प्यानल बनाएर प्रतिस्पर्धा गर्ने तयारी गरिएको छ ।
उपसभापतिमा डा. रमेश ढकाल आकांक्षी देखिएका छन् । प्रदेशको स्वास्थ्य विभागमा रहेका ढकाल शंखरापुर अस्पताल सञ्चालक पनि हुन् ।
उपसभापति पदमा अर्को आकांक्षी मेनुका ठकुरी देखिएको रास्वपाका प्रदेश नेताहरुले जानकारी गराएका छन् । महामन्त्रीमा सुरेन्द्र भट्ट सोही पदमा दोहोरिन चाहेका छन् । महामन्त्री भट्टले हालकै पदको आकांक्षी रहेको अनलाइनखबरलाई जानकारी गराए ।
रास्वपाको विधान अनुसार प्रदेश अनुसार कार्यसमितिको आकार फरक–फरक हुने व्यवस्था गरिएको छ ।
बागमती प्रदेश समिति ६५ सदस्यीय हुने व्यवस्था गरिएको छ । सभापति, उपसभापति, महामन्त्री १/१ जना हुने व्यवस्था छ ।
सहमहामन्त्री दुई जना हुने र फरक–फरक लिंगको हुनुपर्ने विधानमा प्रावधान छ । पदाधिकारीमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री कोषाध्यक्ष र प्रवक्ता हुने व्यवस्था छ ।
निर्वाचन हुने अवस्थामा नयाँ कार्यसमितिका लागि दुई चरण गर्नुपर्ने विधि बनाइएको छ । पहिलो चरणमा सभापति र प्रदेश सदस्यको चुनाव गर्ने व्यवस्था छ । प्रदेश सदस्यमा चयन भएकाहरूबाट थप पदाधिकारी छनोट गर्न प्रतिनिधिहरूले दोस्रो चरणको मतदान गर्नुपर्ने हुन्छ ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन भने असार ६ र ७ गते चितवनमा हुँदैछ ।
रास्वपाले भन्यो– प्रधानमन्त्रीले सदनमा जवाफ दिनुहुन्न
इरानमाथि आक्रमण नगर्न नेतन्याहूलाई ट्रम्पको चेतावनी
प्रधानमन्त्री शाहले लगाएको गोल्डस्टारको ‘बालेनले लगाएको जुत्ता’
फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या ३५ नाघ्यो, २०० भन्दा बढी घाइते
विश्वकपमा इतिहासकै ठूलो परिवर्तन! नयाँ नियमले फुटबललाई ‘मेकानिकल’ बनाउने डर
रास्वपा मधेशका जिल्ला-पालिका अधिवेशन : कतै विवाद, कतै कुटाकुट
नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह
प्रतिक्रिया