प्रधानमन्त्री शाहले लगाएको गोल्डस्टारको ‘बालेनले लगाएको जुत्ता’

काठमाडौं । यतिवेला गोल्डस्टारका शोरुम एवं आउटलेटदेखि सामाजिक सञ्जालसम्म एउटा जुत्ताको चर्चा छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गोल्डस्टारको ‘आर्क सिरिज’ को जुत्ता लगाएपछि यसको चासो ह्वात्तै बढेको हो। १ हजार ५ सय रुपैयाँ एमआरपी रहेको उक्त जुत्ता खोज्दै ग्राहक आउटलेट पुगिरहेका भिडियोसमेत सामाजिक सञ्जालमा प्रशस्त भेटिन्छन्।

सामाजिक सञ्जालमा यसको चर्चा चुलिइरहँदा चर्चित भ्लगर तथा डेन्टिस्ट शशांक ताम्राकारले पनि जुत्ता किन्दै स्वदेशी ब्रान्डलाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन्। टिकटकमा राखेको भिडियोमा उनले भनेका छन्, ‘वाटरप्रुफ छ। मैले सोचेको भन्दा अति नै कम्फर्टेबल छ। बालेन सरले लगाइसक्नुभएपछि हामीले पनि ट्रेन्ड फलो गर्नुपर्‍यो नि।


गोल्डस्टारका आउटलेटमा ‘बालेनले लगाएको जुत्ता’ भन्दै ग्राहकलाई जानकारी दिने क्रमसमेत बढेको छ। केही दिनअघि गोल्डस्टार शोरुम चाबहिलको टिकटक आईडीबाट पोस्ट भएको भिडियोमा ‘कम्पनीसँग स्टक नभए पनि आफूसँग रहेको’ बताइएको छ। भिडियोमा भनिएको छ, ‘कम्पनीले सोल्डआउट गरिसकेको छ। कम्पनीसँग स्टक छैन। तर हामीसँग स्टक छ। १ हजार ४ सय रुपैयाँ मात्रै हो। देशभर डेलिभरी हुन्छ।’


आगामी आर्थिक वर्षको बजेट भाषणलगत्तै बाहिरिँदै गर्दा प्रधानमन्त्री शाहले आफूले गोल्डस्टारको जुत्ता लगाएको भन्दै देखाएको गोल्डस्टार स्ट्रायड लिमिटेडकी कार्यकारी निर्देशक एवं सांसद विदुषी राणाको भनाइ छ। ‘मैले प्रधानमन्त्रीज्यूलाई लगाउन भनेकी होइन, संयोगवश हो,’ उनले भनिन्, ‘उहाँ आफैंले गोल्डस्टार लगाएको भन्दै देखाउनुभयो। मैले सोचेकी पनि थिइनँ। भावुक पनि भएँ।’

गोल्डस्टारको जुत्ता लगाएर प्रधानमन्त्रीले आफ्नो कम्पनीलाई मात्र नभई मुलुकका स्वदेशी फुटवेयर उद्योगलाई नै सम्मान गरेको समेत राणाले बताइन्। ‘प्रधानमन्त्रीज्यू गोल्डस्टार लगाएर सदनमा जानु मेरा लागि गर्वको कुरा हो, सबै स्वदेशी उद्योगलाई सम्मान पनि हो,’ उनले भनिन्।

प्रधानमन्त्री शाहले गोल्डस्टारको जुत्ता लगाएपछि उक्त कम्पनी मात्र नभई समग्र फुटवेयर उद्योगी नै उत्साहित देखिएका छन्। सरकारले चोरी पैठारी, न्यून बीजकीकरण र कच्चा पदार्थमा सहुलियत दर लगाउने हो भने केही वर्षमै मुलुक फुटवेयरमा आत्मनिर्भर बन्न सक्ने राणाको भनाइ छ। सबैभन्दा बढी चोरीपैठारी भएका जुत्ता–चप्पलसँग प्रतिस्पर्धा गर्नुपरेको उद्यमीहरूको गुनासो छ।